काठमाडाैं, जेठ २१ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले खानीजन्य, नदीजन्य वस्तुहरु उत्खनन गरेर स्वदेशमा मात्रै नभई विदेशमा समेत बेच्ने वातावरण बनाउन सरकार लागेको बताउनुभएको छ ।
खानीजन्य वस्तु निर्यात गर्नेगरी सरकार अघि बढेको बताउँदै उहाँले निर्माण सामग्रीको अभावमा आयोजना कार्यान्वयन हुन नसक्ने अवस्था हटाइने बताउनुभएको हो ।
खानीजन्य र नदीजन्य निर्माण सामग्रीको उत्खनन गरेर उपयोग गर्ने मात्रै नभई निर्यात गर्नेसम्म सम्मको बजेटमा राखिएको कार्यक्रमलाई प्रभावकारी हिसावले कार्यान्वयनमा लगिने उहाँको भनाइ छ ।
आज राजधानीमा पूर्वाधार पत्रकार समाजले गरेको एक कार्यक्रमललाई सम्बोधन गर्दै उहाँले त्यसदिशा तर्फ सरकार अघि बढिसकेकाले अब ब्याक नहुने बताउनुभयो । कार्यक्रममा अर्थमन्त्री पौडेलले बजेटमा पूर्वाधार निर्माणको क्षेत्रमा जेजस्ता समस्या रहँदै आएका थिए ती समस्यालाई हदसम्मै पूरा गरिएको समेत उल्लेख गर्नुभयाे । केही महत्वपूर्ण सुधारका प्रयास बजेटमा गरिएकाले परिणाम सकारात्मक आउनेमा आफू आशावादी रहेको उहाँको भनाइ छ ।
अर्थमन्त्री पौडेलले भन्नुभयो, "निर्माण क्षेत्रमा नदीजन्य वस्तुहरुको अभाव हुन दिँदैनौ । वातावरणीय प्रभाव अध्ययनबाट उपयुक्त र आर्थिक दृष्टिले सम्भाव्य देखिएका खानीजन्य र नदीजन्य निर्माण सामाग्री उत्खनन र प्रशोधन गरी आन्तरिक उपयोग गर्नेछौं । नेपालमा मात्रै नभई निर्यात गर्ने व्यवस्था मिलाउनेछौं । खानी जन्य, नदिजन्य वस्तुहरु अभाव भएका कारण निर्माण जन्य प्रभावित हुन पर्दैन । अब बजेटमा राखिएको कार्यक्रमबाट पछि हट्दैनौ ।"
तीन करोडभन्दा तलका आयोजनाहरु अब कसैले पनि बजेटमा राख्न हिम्मत नगर्ने बताउँदै पौडेलले अहिलेको बजेट अनुशासनका हिसावले यो महत्वपूर्ण डिपार्चर रहेको दाबी गर्नुभयो । अर्थमन्त्री पौडेलकाअनुसार साना आयोजनाहरु कटौतीमा परेका छन् । "चालु आ.व मा सम्पन्न हुने दायित्व सिर्जना भएका भने कटौतीमा परेका छैनन् । खुद्रे आयोजनाहरु लामोसमय रहँदैन", उहाँले भन्नुभयाे ।