राजकुमार भट्टराई
खोटाङ, जेठ २१ गते । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका विद्यार्थीले सङ्घीय संसद्को झझल्को दिने गरी संसदीय अभ्यास गरेका छन् । संसद् गठन, समिति निर्माणसँगै सरकार निर्माण गरी संसदमा सरकारको बजेट पेस गर्नेदेखि विधेयक पेस गर्नेसम्मको अभ्यास गरेका हुन् ।
हलेसी तुवाचुङ नगरपालिकाको न्यायिक समितिले आयोजना गरेको नमुना संसद् कार्यक्रममा निजी र सामुदायिक विद्यालयबाट ५२ जना विद्यार्थीको सहभागिता थियो । हलेसीमा सञ्चालन भएको नमुना संसद् अभ्यास कार्यक्रममा सहभागीहरूलाई स्वयं सत्तापक्ष एवं प्रतिपक्षमा विभाजन गरी सांसद, मन्त्री, प्रधानमन्त्री, सचेतक, सभामुख लगायत विभिन्न जिम्मेवारी प्रदान गरेर संसद् अधिवेशन आह्वान हुँदै शून्य समय, विशेष समय, विधेयक पेस, शुन्य समय र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्री र प्रधानमन्त्रीले जवाफ दिनेसम्मको अभ्यास गरिएको थियो ।
नमुना संसद अभ्यासमा बजेट र सामाजिक सञ्जाल सम्बन्धि विधेयक २०८२ पेस गरेर त्यसमाथि छलफल गराई पाससमेत गराइएको प्रशिक्षक रम्बोहोङ राईले बताउनुभयो । यस्तै, स्थानीय स्तरमा उत्पादन भएका पदार्थलाई अन्तराष्ट्रिय स्तरमा पुराउन सङ्कल्पसमेत पास गराइएको थियो । अभ्यासमा तीन वटा विधामा उत्कृष्ट र तीन जनालाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।
उत्कृष्ट बहसकर्ता घनश्याम विश्वकर्मा, उत्कृष्ट नेतृत्वकर्ता महेश कार्की, उत्कृष्ट अनुसन्धानकर्ता विष्ना थापा मगरलाई पुरस्कार प्रदान गरिएको छ । यस्तै, मुना राई, अञ्जली राई र पुजना राईलाई सान्त्वना पुरस्कार प्रदान गरिएको प्रशिक्षक राईले बताउनुभयो ।
विद्यार्थीलाई संसद भित्रको अभ्यास कसरी हुन्छ र कसको जिम्मेवारी के रहन्छ अर्थात राज्य सञ्चालन कसरी हुन्छ भन्ने जानकारी दिन नमुना संसद अभ्यास कार्यक्रम आयोजना गरिएको हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर एवं न्यायिक समितिका संयोजक रमेशकुमार राउतले बताउनुभयो ।