पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, जेठ २१ गते । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ मा रहेको चौपत्ता अस्पताल (शहीद स्मृति सामुदायिक अस्पताल) लाई काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालको सहकार्यमा सञ्चालन गर्ने तयारी भएको छ ।
विशेषगरी, चौपत्ता अस्पतालमा आउने मिर्गौला रोगीसहित अन्य बिरामीको थप उपचार डायलाइसिस सेवा प्रभावकारी रूपमा सञ्चालन गर्ने मुख्य उद्देश्यले धुलिखेल अस्पतालको सहकार्यमा विविध स्वास्थ्य सेवा सञ्चालन गर्ने तयारी भएको हो ।
धुलिखेल अस्पताल काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेलमा अवस्थित एक प्रसिद्ध अस्पताल हा । अस्पतालले देशका विभिन्न २१ स्थानमा सामुदायिक स्वास्थ्य केन्द्र (आउटरिच सेन्टर) हरूमार्फत स्थानीय समुदायलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
शहीद स्मृति सामुदायिक अस्पताल सञ्चालनका लागि धुलिखेल अस्पताल र बर्दघाट नगरपालिकाबिच सम्झौता भई आवश्यक काम सुरु भएको छ । बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठले धुलिखेल अस्पतालसँगको यो सहकार्य हाम्रो नगरको स्वास्थ्य क्षेत्रमा थप सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो । समझदारीअनुसार, स्थानीय स्वास्थ्य प्रणालीलाई मजबुत बनाउने लक्ष्यसहित सेवा विस्तारलाई पाँच चरणमा लागू गरिनेछ ।
पहिलो चरणमा, बर्दघाट नगर क्षेत्रका सबै स्वास्थ्य केन्द्रहरूलाई समन्वय गरी एकीकृत सेवा योजना लागू गरिनेछ । यसले नगरभित्रै व्यापक र समन्वित उपचार प्रक्रिया सुनिश्चित गर्नेछ । दोस्रो चरणमा, सोही अवधिमा डायलाइसिस सेवा केन्द्र स्थापना गरिनेछ, जसले विशेषगरी गम्भीर मिर्गौला रोगीलाई टाढा जानु नपरी स्थानीयस्तरमै उपचार उपलब्ध गराउनेछ ।
तेस्रो चरणमा, प्रत्येक त्रैमासिकमा विशेष स्वास्थ्य शिविरहरू सञ्चालन गरिनेछन् । साथै, हप्तामा एक दिन विशेषज्ञ चिकित्सकसँग टेलिमेडिसिनमार्फत परामर्श उपलब्ध हुने व्यवस्था गरिनेछ ।
चौथो चरणमा, स्थानीय स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिनेछ र दीर्घकालीन मानव स्रोत विकासको योजना अघि बढाइनेछ । पाँचौँ तथा अन्तिम चरणमा, स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि नयाँ उपकरणहरू भित्र्याउने र स्रोत विकास गरिनेछ ।
समझदारीअनुसार, बर्दघाट नगरपालिकाले अस्पताल टोलीको यात्रा, आवास र भोजनको व्यवस्था गर्नेछ । उता, धुलिखेल अस्पतालले कुनै शुल्क नलिई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
समझदारीपत्र २०८४ सालको अन्त्य (जुन २०२७) सम्म रहनेछ । सो सहकार्यका लागि पश्चिम नवलपरासीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विनोद चौधरी र बर्दघाट नगरपालिकाको पहलमा धुलिखेल अस्पतालसँग सहकार्य भएको हो ।
धुलिखेल अस्पताल सन् १९९६ (विसं २०५३) मा धुलिखेल नगरपालिका, नेपाली मेड अस्ट्रिया र धुलिखेल स्वास्थ्य सेवा संस्थाको संयुक्त योजनामा स्थापना भएको थियो । धुलिखेल अस्पताल सामुदायिक स्तरबाट सञ्चालन भएको नेपालको पहिलो सामुदायिक अस्पताल हो ।