• ११ असोज २०८१, शुक्रबार

राष्ट्रिय खुला पुम्सेमा निशालाई स्वर्ण

blog

राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगिताको उद्घाटन गरिँदै । तस्बिर : राखेप

काठमाडौं, जेठ २८ गते । नेपाल प्रहरीकी निशा दर्नालले प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगितामा शनिबार स्वर्ण जित्नुभएको छ । निशाले महिला एकलको १८–२२ वर्ष उमेरसमूहमा स्वर्ण जित्नुभएको हो । उक्त स्पर्धामा नेपाल आर्मीकी स्वस्तिका तामाङले रजत तथा प्रहरीका मोनिका रम्तेल र जैनव खातुनले कांस्य जित्नुभयो । सोही स्पर्धाको पुरुषमा युवराज राणा पहिलो, अस्मिन राउत दोस्रो तथा राम गोले र लक्ष्मण गोले तेस्रो हुनुभयो । 

नेपाल तेक्वान्दो संघको आयोजनामा सातदोबाटोमा भइरहेको प्रतियोगिताको १५–१८ वर्षको पुरुष एकलमा गोदावरी फिट्नेसका श्रृजल श्रेष्ठले स्वर्ण, गोदावरीकै सैरुस थापाले रजत, हात्तीवनका युकेन चौगुठी र मुलपानीका आयुश ढुंगेलले कांस्य हात पार्नुभयो । सो स्पर्धाको महिलामा आर्मीकी पुर्णिमा बस्नेत, बुटवलकी एलिजा रोकाया तथा बुटवलकै नुतन गुरुङ र हात्तीवनकी रोस्लिन ओझाले क्रमशः शीर्ष तीन स्थान हात पार्नुभयो । 

पुरुष एकलको १२–१५ वर्ष उमेरसमूहमा नुवाकोटका साजन तामाङले स्वर्ण, आरबीका निश्चल धानीले रजत तथा स्युचाटारका आर्जन श्रेष्ठ र न्युजेनका सम्राट सिंहले कांस्य जित्नुभएको छ । सोही स्पर्धाको महिलामा गोदावरीकी सर्गम थापा पहिलो, स्वयंभूका तारा वाइबा दोस्रो तथा स्वयंभूकी सुवानी तामाङ र बुटवलकी अनुष्का तामाङ तेस्रो स्थानमा रहनुभयो । 

पुरुष एकलको १०–१२ वर्षमा गोदवारीका निरब महर्जन पहिलो, स्टेपिङ स्टोनका अद्रिश रायन दोेस्रो तथा स्युचाटारका रोदन राई र लैनचौरका इराजसिंह ठकुरी तेस्रो हुनुभयो । महिलामा न्युजेनकी श्रृष्टि स्याङबो प्रथम, झापाकी खुशी गौतम दोस्रो तथा जैशीदेवलकी मुबिक्क्ष्या गजुरेल र आर्मीकी कुसुम तामाङ तेस्रो हुनुभयो । 

प्रतियोगितामा विभाग, प्रदेश र जिल्लाका ७ सय ४३ खेलाडीको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष भानबहादुर चन्दले जानकारी दिनुभयो । विभिन्न १४ विधामा प्रतिस्पर्धा सञ्चालित यस प्रतियोगिताबाट खेलाडीको वरीयता समेत निर्धारण गरिने संघले जनाएको छ । 

काठमाडौं महानगर तेक्वान्दोमा सागरलाई स्वर्ण

यसैगरी आयोजक कोटेश्वर तेक्वान्दो डोजाङका सागरसिंह ठकुरीले काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्ण जित्नुभएको छ । पेप्सीकोलास्थित आयोजक डोजाङकै हलमा भएको पुरुष ५० केजीमुनि फाइनलमा सागरले नुवाकोटका रन्जित तामाङलाई पराजित गर्नुभयो । 

आयोजककै दीपकसिंह सितौला र सुनसरीका अफान श्रेष्ठ तेस्रो हुनुभयो । पुरुष ३४ केजीमुनि बाँकेका जिवेशजंग शाही पहिलो हुनुभयो । फाइनलमा उहाँले चाँदनीका आशिष माझीलाई हराउनुभयो । नुवाकोटका अशोक तामाङ र टोखाका राजन कर्माचार्य तेस्रो हुनुभयो । 

महिला ३१ केजीमुनि चन्द्रागिरीकी सेली गुरुङले फाइनलमा बाँकेकी रितु राजकोटीलाई पाखा लगाउदै शीर्ष स्थान कब्जा गर्नुभयो । आयोजककी रितिका थापा र एसकेबीसीकी याङजुम शेर्पा तेस्रो हुनुभयो । महिला ३७ केजीमुनि बाँकेकी अनु थापा पहिलो हुनुभयो । नेवारेकी आशा शाही दोस्रो तथा एसकेबीसीकी देबुना केसी र राष्ट्रिय विभूतिकी सन्जु सापकोटा तेस्रो हुनुभयो ।

प्रतियोगितामा विभिन्न २२ जिल्लाका करिब ६ सय खेलाडीको सहभागिता रहेको छ । सहभागि खेलाडीले ग्योरोगीमा २४ र पुम्सेमा ६ गरी जम्मा ३० स्पर्धामा प्रतिस्पर्धा गरेका छन् । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङले उद्घाटन गर्नुभयो ।