अर्जुन कार्की
काठेखोला (बागलुङ), जेठ ९ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ नेताप्रति बढी घृणा जगाएमा समाज अराजक बन्ने बताउनुभएको छ । ‘जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’अन्तर्गत शुक्रबार बागलुङ बजारमा आयोजित जनसंवाद कार्यक्रममा उहाँले नेताको आलोचना गर्नुपर्ने तर समाज पूरै निरास गराउने गरेर गर्न नहुने बताउनुभयो ।
‘‘नेताको आलोचना गर्नुपर्छ, नेताको गल्तीहरु र पार्टीको गल्तीहरुलाई भन्नुपर्छ । तर यति धेरै भन्ने होइन की समाज नै पूरै निरास बनोस्,’’ उहाँले भन्नुभयो, ‘‘अब नेपालमा केही पनि नहुने भयो भन्ने हदसम्म गाली गर्न थालियो भने जनता सम्पूर्ण रुपले असन्तुष्ट र निराश भएपछि राष्ट्र नै फेल हुने दिशा तिर जान्छ ।’’
नेताको आलोचना सकारात्मक र रचनात्मक हुनुपर्ने उहाँको भनाइ छ । ‘‘अहिले सबै नेता र पार्टी एउटै हुन भन्ने खोजिएको छ । त्यो खतरनाक हो,’’ प्रचण्डले भन्नुभयो, ‘‘भ्रष्टचारलाई खतम गर्नुपर्छ भनेर भ्रष्टचारीलाई कारवाही गर्ने पनि उस्तै अनि भ्रष्टचारीलाई जोगाउने र रातारात करोड र अर्बपति बन्ने पार्टी पनि एउटै हुन त ? सुशासनको निम्ति अभियान चलाउने पार्टी र अभियान चलाए बापत दलालहरुलाई बचाउन काम गर्ने नेता र पार्टी एउटै हुन त ? यति गलत भाष्य किन बनेको छ भन्ने गम्भीर रुपले विचार गर्नुपर्ने छ ।’’
पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले नेपालीलाई अराजकतावादी रोग लागेकाले विदेशी रहेको बताउनुभयो । उहाँले अहिले विदेश जाने फेसन बनिरहेको बताउँदै यो धेरै दिन नचल्ने बताउनुभयो । ‘‘हामीले हिजो क्रान्ति गरेका ठाउँमा विद्यालयमा पढाउने शिक्षक जो मासिक ७०, ८० हजार रुपियाँ तलब खान्थे उनीहरु आफ्नै खेत जमिन छोडेर झण्डै एक करोड खर्च गरेर चोरीको बाटो अमेरिका गएका छन्,’’ उहाँले भन्नुभयो, ‘‘सबै खान नपाएर केही पनि नभएर गए भन्नु सत्य होइन । नेपालीलाई अराजकताबादी रोग लागेको छ । विदेशको अनुदानीकृरण गर्ने, यान्त्रिक ढङ्गले सोचने रोग लागेको छ । त्यो रोगको उपचार गर्ने तिर सवै लाग्नुपर्ने छ ।’’
अहिले देशमा उद्यम गर्नुपर्छ भनेर हजारौं युवा फर्किएका छन् बताउँदै उनीहरुलाई प्रेरित गरेर अरु युवाहरुलाई पनि फर्काउनुपर्ने सरकार लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालमा मेहेनत गरेमा उत्पादन, उत्पादकत्व र आर्थिक समृद्धिको क्षेत्रमा क्रान्ति ल्याउन सकिने देश नेपाल रहेको प्रचण्डको भनाइ छ । ‘‘यहाँको प्राकृतिक स्रोतका साधनहरु जमिन, जल, जडिबुटी यहाँको कृषि उपजको निम्ती तराई पहाड, हिमालमा विभिन्न जातका खेती गर्न सकिन्छ । यहाँ फलफुल, पशुपालन हरेक दृष्टिकोणले साना उद्योग स्थापना गर्ने, स्वरोजगार सिर्जना गर्न सकिन्छ,’’ उहाँले भन्नुभयो ।
पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नै मेहेनतमा देश बनाउ भन्ने भावना मर्दै गएको भन्दै त्यसमा चिन्ता गर्न जरुरी रहेको बताउनुभयो । उहाँले विदेशमा गएर ५० डिग्री बढीको तापक्रममा जस्तोसुकै काम गर्न तयार नेपाली युवाहरुले देशमा बसेर साना उद्योग सञ्चालन गरेर स्वरोजगार बन्न लाग्नुपर्नेमा जोड दिनुभयो ।