• १० पुस २०८२, बिहिबार

जेलेन्स्कीको कडा चेतावनी

blog

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्की ।

किएभ, पुस १० गते । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहेकोप्रति गम्भीर चेतावनी दिनुभएको छ । उहाँले युक्रेनको विदेश गुप्तचर सेवाका प्रमुख ओलेह इभासेन्कोको प्रतिवेदन उद्धृत गर्दै ऊर्जा कम्पनी र काल्पनिक कानुनी संरचनामार्फत रुसले प्रतिबन्धबाट जोगिन खोजिरहेको उल्लेख गर्नु भयो ।

सामाजिक सञ्जाल एक्समा सार्वजनिक सन्देशमार्फत राष्ट्रपति जेलेन्स्कीले युक्रेनले यस्ता गतिविधि निरन्तर निगरानी गरिरहेको र साझेदार मुलुकसँग समन्वय गरेर रुसमाथि दबाब कायम राख्ने स्पष्ट पार्नु भयो । “रुसले आफ्ना ऊर्जा कम्पनीहरूलाई विश्वव्यापी प्रतिबन्धबाट बचाउन अस्थायी मालिक र बनावटी कानुनी योजना प्रयोग गरिरहेको छ । हामी यी सबै गतिविधिमाथि नजर राखिरहेका छौँ र रुसलाई युद्धका लागि स्रोत जुटाउन नदिन साझेदारसँग सहकार्य गर्ने छौँ”, उहाँले भन्नु भयो ।

इभासेन्कोको प्रतिवेदनमा बेलारुसको भूमिमा रुसले ओरेसनिक प्रणाली तैनाथ गरेको विषय पनि समेटिएको छ, जसलाई राष्ट्रपति जेलेन्स्कीले विश्वव्यापी सुरक्षाका लागि गम्भीर खतरा ठहर गर्नु भयो । उहाँका अनुसार यस्ता हतियारको आक्रामक विस्तारले खतरनाक उदाहरण सिर्जना गर्दछ र त्यसविरुद्ध सहयोगीसँग संयुक्त प्रतिक्रिया विकल्प तयार गर्न निर्देशन दिइसकिएको छ ।

राष्ट्रपति जेलेन्स्कीले गुप्तचर र सैन्य उत्पादन क्षेत्रमा रुस र चीनबिच बढ्दो सहकार्यप्रति पनि चिन्ता व्यक्त गर्नु भयो । उहाँले विशेष गरी अन्तरिक्षमा आधारित खुफिया सूचनामा दुवै देशका संस्थाबिच सहयोग बढिरहेको उल्लेख गर्नु भयो । युक्रेनका अनुसार चिनियाँ उपग्रह तस्बिर र युक्रेनी ऊर्जा पूर्वाधारमाथि भएका रुसी आक्रमणबिच सम्बन्ध देखिएको छ ।

“यस्ता गतिविधिले रुसलाई युद्ध लम्ब्याउन र कूटनीतिक प्रयास कमजोर पार्न सहयोग पुर्‍याइरहेको छ”, उहाँले भन्नुभयो । उहाँले यी सबै विषय साझेदारसँग उठाइने र कूटनीतिक माध्यमबाट रुसका कदमको प्रतिरोध गरिने पनि स्पष्ट गर्नु भयो । यसैबिच, किएभको स्वाटोसिन्स्की जिल्लामा हालै भएको रुसी ड्रोन आक्रमणमा पाँच जना घाइते भएको किएभ सिटी मिलिटरी प्रशासनले जनाएको छ । युद्धका यस्ता घटनाले क्षेत्रीय मात्र नभई विश्वव्यापी सुरक्षामा समेत गम्भीर असर पारिरहेको युक्रेनको निष्कर्ष छ । रासस/एएनआई