काठमाडौँ, पुस १० गते। भिर पहरा आरोहण स्थलको सहजताका लागि नेपालमै पहिलो पटक टोपो म्याप निर्माण सुरु भएको छ। नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक सङ्घले आफ्नो २० औँ स्थापना दिवसको अवसरमा म्याप निर्माणको काम सुरु गरेको हो।
सन् २००४ पुस १० गते नेपालमा गाइडको मान्यता प्राप्त भएको दिनलाई माउन्टेन गाइड दिवसको रूपमा मनाइने गरिन्छ। दिवसकै अवसरमा आयोजित हिमाललाई सुरक्षित राख्ने नेपाली पर्वतारोहण पथ प्रदर्शकको विगत र वर्तमान अवस्था बारे बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजित गरी जानकारी गराइएको थियो।
यसै क्रममा नेपालको साहसिक खेल अन्तर्गतको मुख्य खेलमा पर्ने रक क्लाइम्विङ खेलाडीका लागि सहजता दिन म्याप निर्माण सुरु गरिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सङ्घका अध्यक्ष तुल सी गुरुङले जानकारी दिनुभयो।
‘पहिलो पटक हात्तिवनस्थित रक क्लाइविङ स्पोटको म्याप निर्माण सुरु गरेका छौँ। यसलाई विस्तार गरी देशका मुख्य मुख्य क्लाइम्विङ स्पोटहरूमा गर्दै जाने योजना छ’, उहाँले भन्नुभयो। म्याप निर्माणले रक क्लाम्बिङका लागि सहज हुने र स्पोट पुग्नु अघि नै सबै विषयको जानकारी हुने भएकाले खेलाडीलाई पूर्वतयारीमा सहयोग पुग्ने छ।
हिमाल आरोहणका लागि पहिलो चरणको तालिमको रूपमा रक क्लाइम्विङलाई लिने गरिन्छ। आरोहीको सङ्ख्या वृद्धि गर्न र पर्वतीय पथ प्रदर्शकका लागि तालिमका लागि समेत रक क्लाइम्विङ मुख्य भएकाले टोपो म्यापलाई विस्तार गर्नु पर्ने प्रशिक्षक माउन्टेन गाइड एवं पर्वतीय प्रशिक्षक सङ्घका अध्यक्ष छिरिङ पाण्डे भोटेले बताउनु भयो।
टोपो म्याप निर्माणमा क्लाइम्विङ स्थलको प्रत्येक रुटको सहजता, कठिनाइ र रुटको विस्तृत जानकारी हुने छ। यसले म्यापकै माध्यमबाट फिल्ड जानका लागि पूर्वतयारी गर्न समेत मद्दत गर्ने छ।
माउन्टेन गाइडको सङ्ख्या एक सय नाघ्यो
नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सङ्घका अनुसार नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त माउन्टेन गाइडको सङ्ख्या एक सय सात जना पुगेको छ। २०६१ सालमा स्थापना भएको सङ्घले २०६९ देखि अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक महासङ्घको मान्यता पाएदेखि हालसम्म प्रमाणपत्र प्राप्त गाइडको सङ्ख्या एक सय नाघेको सङ्घले जनाएको हो।
तालिमका क्रममा रहेकाले प्रत्येक वर्ष गाइड उत्पादन नभए पनि क्रमिक रूपमा गाइडप्रति आकर्षण बढ्दै गएको सङ्घका अध्यक्ष गुरुङको भनाइ छ। मान्यता प्राप्त गाइड पश्चात् संसार भरका हिमालमा गाइडको भूमिका निर्वाह गर्न पाउने गर्छ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त माउन्टेन गाइडले हाल हिमाल भएको २६ देशमा गएर आरोहणमा गाइड गर्दै आएको छ भने भारत र चीनमा समेत प्रशिक्षकको रूपमा काम गर्दै आएको सङ्घले जनाएको छ।