राधा लुइटेल
फिदिम, पुस १० गते । पाँचथरको फिदिममा चासोक मेला सुरु भएको छ । मौलिक संस्कार र सस्कृति जगेर्ना गर्ने उद्देश्यले प्रत्येक वर्ष उधौली पर्वको सन्दर्भ पारेर लगाइने यो मेला बिहीबारदेखि फिदिम ४ गडी क्षेत्रमा सुरु भएको हो ।
किरात संस्कार र संस्कृति जगेर्ना गर्ने उद्देश्यले लाग्ने मेलामा पाँचथरसहित कोशी प्रदेशमा बाहुल्य रहेका जाति जनजातिका संस्कृति झल्किने क्रियाकलाप र मौलिक खानाका स्टल राखिएका छन् ।
पुस २० गतेसम्म लाग्ने मेलाको फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले उदघाटन गर्नु भयो । उदघाटन समारोहमा प्रमुख अतिथि काफ्लेले सबै जातजातिको संस्कार संस्कृति जगेर्ना गर्न यस्ता मेला र महोत्सवले टेवा पुग्ने बताउनु भयो ।
उदघाटन समारोहमा लिम्बू संस्कृतिमा आधारित झाँकीसहितका नृत्य प्रस्तुत गरिएको छ । पुस २० गतेसम्म लाग्ने मेलामा विभिन्न जातिका झाँकीको प्रतियोगितात्मक नृत्यसँगै रैथाने उत्पादनको प्रवर्धन गरिने फिदिम–४ का वडाध्यक्ष उपेन्द्र लावतीले बताउनु भयो ।
मेला फिदिम नगरपालिका–४ को सुम्हात्लुङ मन्दिर क्षेत्रमा लाग्ने गर्छ । किरात जातिको मौलिक पर्व चासोक तङ्नाम २०८२ को अवसरमा मेलाको आयोजना गरिएको छ ।
मेलाको अवसर पारेर १२ गते शनिबार ८ औं सुम्हालुङ मिनी म्याराथन प्रतियोगिता आयोजना गर्ने आयोजक सुम्जिरि सुम्हात्लुङ आम्वेपः प्रतिष्ठानले जनाएको छ ।