• १० पुस २०८२, बिहिबार

सत्यनारायणबहादुर श्रेष्ठ सम्मान कर्माचार्य र अधिकारीलाई

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, पुस १० गते । पत्रकारिता क्षेत्रमा योगदान गरेका पत्रकारद्वय प्रकृति अधिकारी र रामकृष्ण कर्माचार्य सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार र सम्मानबाट सम्मानित हुनु हुने भएको छ ।

नेपाल पत्रकार महासङ्घका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठको ११० औं पुण्यतिथिको अवसरमा हुने कार्यक्रममा उहाँहरूलाई सम्मानित गरिने छ । नेवाः पत्रकार राष्ट्रिय दबूले पुस १२ गते शनिबार ललितपुर मानभवनस्थित आदर्श विद्या मन्दिरमा तय गरेको कार्यक्रममा सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार गोरखापत्र दैनिकका उपसम्पादक प्रकृति अधिकारीलाई दिने निर्णय गरेको छ । अधिकारीलाई नगद राशी २५ हजार हस्तान्तरण गरिने छ । 

त्यस्तै, सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी सम्मानबाट वरिष्ठ पत्रकार रामकृष्ण कमाचार्यलाई सम्मानित गर्ने निर्णय भएको पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले बताउनु भयो । 

नेपाल पत्रकार महासङ्घका संस्थापक अध्यक्षको रूपमा श्रेष्ठलाई स्थापित गर्न पत्रकार राष्ट्रिय दबूले एक दशकदेखि निरन्तर अभियान सञ्चालन गर्दैआएको कार्यक्रम संयोजक राजु नापितले बताउनु भयो । श्रेष्ठको नेतृत्वमा २००८ वैशाख ९ गते नेपाल पत्रकार सङ्घ गठन भएको थियो । समग्र पत्रकारलाई सङ्गठित गर्ने उद्देश्यले सङ्घ गठन भएको एक वर्षपछि २००९ वैशाख २८ गते श्रेष्ठकै नेतृत्वमा सङ्घ पुनर्गठन भएको इतिहास छ । नेपाल टुडेका सम्पादक समेत रहेका श्रेष्ठको नेतृत्वमा गठन भएको पत्रकार सङ्घ नै अहिले महासङ्घ बनेको हो । 

पत्रकार राष्ट्रिय दबूले सोही दिन तेस्रो मिडिया कप फुटसल प्रतियोगिता ११४६ गर्ने भएको छ । फुटसल प्रतियोगितामा उपाधि जितेकालाई पुरस्कृत गरिने फुटसल प्रतियोगितातर्फका संयोजक प्रजित शाक्यले बताउनु भयो । पत्रकार, कलाकार तथा अन्य पेसागत सङ्घ संस्थामा आबद्ध रहेका खेलप्रेमीहरूको सहभागितामा तीन वर्षदेखि फुटसल प्रतियोगिता हुँदै आएको छ ।