जनकपुरधाम, जेठ ९ गते । गृहमन्त्री रमेश लेखकले देशभर लागु औषधको समस्या डरलाग्दो रुपमा बढिरहेको बताउनुभएको छ । जनकपुरमा शुक्रबार मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
गृहमन्त्री लेखकले लागु औषधको नियन्त्रण जरुरी रहेको बताउनुभयो । उहाँले सडक दुर्घटना नेपालको अर्को विकराल समस्या रहेको बताउँदै सडक दुर्घटनाबाट दैनिक झण्डै सात जनाको ज्यान जाने गरेको जानकारी दिनुभयो । उहाँले देशभर आत्महत्यका कारण दैनिक १७ जनाको ज्यान जाने गरेको र साइबर क्राइम पनि डरलाग्दो समस्याका रुपमा आएको बताउनुभयो । उहाँले लागु औषधको नियन्त्रणमा खटिएर लाग्न प्रदेशका सुरक्षा निकायहरुलाई निर्देशन दिनुभयो ।
‘‘ड्रग्सको धेरै ठुलो समस्या छ । देशभर नै लागु औषधको समस्या देखिएको छ । लागु औषधको नियन्त्रण जरुरी छ । सडक दुर्घटना अर्को ठुलो समस्यका रुपमा रहेको छ । एक दिनमा झण्डै सात जना मानिस सडक दुर्घटनाबाट मृत्यु हुने गरेको छ । सडक दुर्घटनाको नियन्त्रण अर्को महत्त्वपूर्ण काम हो । आत्महत्याको अवस्था देशभर झण्डै १७ जनाले एक दिनमा आत्महत्या गरिरहेका छन् ।,’’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘‘अर्को साइबर क्राइम छ । यो सबै कुरा एक अर्कोसँग जोडिएको छ । मानिसले लागु औषध सेवन गरेर सवारी चलाउँछ, दुर्घटना हुन्छ । लागु औषध सेवन गरेर डिप्रेसनमा जान्छ, लागु औषध सेवन गरेर परिवारमा तनाव हुन्छ, आत्महत्या गर्दछ । लागु औषधको नियन्त्रणमा खटिएर लाग्नुहोला ।’’
गृहमन्त्री लेखकले शान्ति सुरक्षा देशको पहिलो शर्त र आवश्यकता भएको उल्लेख गर्नुभयो । शान्ति सुरक्षाको स्थिति कमजोर हुने वित्तिकै देश विकासका काममा अवरोध आउने बताउनुभयो ।