• ८ जेठ २०८२, बिहिबार

सुन्तला पकेट विकास कार्यक्रम सुरु

blog

किसानलाई सुन्तलाको बिरुवा वितरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा।

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ ८ गते। ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा सुन्तला पकेट विकास कार्यक्रम सुरु गरिएको छ। पाथीभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा नयाँ सुन्तलाजात पकेट विकास कार्यक्रम सुरु गरिएको हो।

स्थानीय किसानको लागत साझेदारीमा डुम्रिसेमा गाउँपालिकाले नयाँ सुन्तलाजात पकेट विकास कार्यक्रम कार्यान्वयनमा ल्याएको हो। डुम्रिसेस्थित ज्योति कृषक समूहमार्फत सुन्तला पकेट विकास कार्यक्रम कार्यान्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले जानकारी दिनुभयो। अध्यक्ष सुब्बाका अनुसार उक्त कार्यक्रमका लागि किसानलाई गाउँपालिकाले ५० देखि सत्–प्रतिशतसम्म अनुदान सहयोग गरेको छ।

सुन्तला पकेट विकास कार्यक्रम सञ्चालनमा नवीनतम् उत्पादन प्रविधि प्रदर्शन, घुम्ती स्थलगत तालिम, जैविक तथा वनस्पातिक मल र विषादी प्रयोग तथा विस्तारका लागि सत्–प्रतिशत अनुदान सहयोग गरिएको अध्यक्ष सुब्बाले बताउनुभयो। यस्तै साना सिँचाइ कार्यक्रमअन्तर्गत पाइप खरिद, स्प्रिङकल, स्टेन खरिद र पाइप पुर्ने ज्यामी खर्चमा ८५ प्रतिशत अनुदान सहयोग गरिएको उहाँले जानकारी दिनुभयो।

त्यस्तै सुन्तलाको बिरुवा खरिद तथा वितरण, इलेक्ट्रिक स्प्रेयर, पावर स्प्रेयर, डिजिटल काँटा, आल्मुनियम खरिदमा ५० प्रतिशत अनुदान सहयो गरेको गाउँपालिकाले जनाएको छ। मिनी ट्रिलर, जैविक मल, जिङ्क मल, कम्पोस तथा गोठे मल खरिद र ढुवानीमा पनि किसानलाई ५० प्रतिशत अनुदान सहयोग गरिएको गाउँपालिकाले जनाएको छ। कार्यक्रम सञ्चालनका लागि विभिन्न काममा गाउँपालिकाले चालु आर्थिक वर्षमा १२ लाख रुपियाँ अनुदान सहयोग गरेको छ। 

गाउँपालिकाले उपलब्ध गराएको अनुदान र किसानको लगानीसमेत कुल १७ लाख ९२ हजार २०० रुपियाँ बजेट सुन्तला पकेट विकास कार्यक्रमका लागि खर्च भएको अध्यक्ष सुब्बाका स्वकीय सचिव तेजबिर मेन्याङ्बोले जानकारी दिनुभयो। मेन्याङ्बोका अनुसार कार्यक्रममा स्थानीय किसानको पाँच लाख ९२ हजार २०० रुपियाँ रकम साझेदारी रहेको छ। कृषक समूहमा १६ परिवार आबद्ध छन्। समूहमा आबद्ध किसानलाई बुधबार सुन्तलाको बिरुवा लगायतका उपकरण तथा सामग्री वितरण गरिएको पनि मेन्याङ्बोले जानकारी दिनुभयो।