• ८ जेठ २०८२, बिहिबार

नेपाललाई भारतीय हक्कीको सहयोग

blog

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङसँग भारतीय हक्कीका पदाधिकारीसहित ।

काठमाडौँ, जेठ ८ गते । भारतीय हक्की सङ्घले नेपाल हक्की सङ्घलाई सहयोग स्वरूप खेल सामाग्री बिहीबार हस्तान्तरण गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) की कार्यकारी समितिकी सदस्यसमेत रहेकी नेपाल हक्की सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले समान ५/५ सय थान हक्की स्टिक र बल तथा प्रशिक्षण सामाग्री सहयोग स्वरूप प्राप्त भएको जानकारी दिनुभयो । 

एसियाली हक्की महासङ्घका उपाध्यक्ष एवं भारतीय हक्की सङ्घका महासचिव भोलानाथ सिंह, भारतीय हक्की सङघका कोषाध्यक्ष सेकर मनोहरण र भारतीय हक्की सङ्घका प्रबन्ध निर्देशक रविकान्त श्रीवास्तवसहित बिहीबार नेपाल आएको टोलीले सामाग्री हस्तान्तरण गरेको हो । 

टोलीले बिहीबारै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, राखेपका उपाध्यक्ष ध्रुव आचार्य र राखेपका सदस्य सचिव टंकलाल घिसिङसँग पनि छुट्टाछुट्टै भेट गरेको छ ।

भेटका अवसरमा नेपालमा हक्कीको अवस्था, नेपालमा हक्कीको विकासका लागि मित्रराष्ट्र भारतको सहयोग, प्रशिक्षणलगायतका विषयमा छलफल भएको थियो ।

सञ्चार मन्त्री गुरुङले आगामी दिनमा पनि नेपालमा हक्कीको विकासका लागि भारतीय हक्की सङघको सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्दै सहयोगका लागि धन्यवाद दिनुभयो । 

भारतीय पदाधिकारीले नेपाली खेलाडीको प्रशिक्षणका साथै भारतीय हक्की सङ्घले नेपालको हक्कीलाई उकास्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

सो अवसरमा हक्की सङ्घका अध्यक्ष अनिलप्रसाद शर्मा, हक्कीका मुख्य प्रशिक्षक रञ्जन थापालगायतको उपस्थिति रहेको थियो ।