• ८ जेठ २०८२, बिहिबार

प्रधानमन्त्री कप एनभिए लिग

एपिएफ र गण्डकीको सुखद सुरुवात

blog

पहिलो दिन प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौँ, जेठ ८ गते । विभागीय टोली नेपाल एपिएफ क्लब र गण्डकी प्रदेश भलिबल सङ्घले पोखरामा बिहीबारदेखि सुरु भएको नवौं प्रधानमन्त्री कप एनभिए लिगको लिगको पुरुषतर्फ विजयी सुरुवात गरेका छन् । 

पोखरा रङ्गशालास्थित बहुउदेश्यीय कभर्ड हलमा भएको पहिलो खेलमा एपिएफले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा हरायो ।एपिएफले २५–१९, २५–१६, २५–१६ को सहज जित निकालेको हो । 

अर्को खेलमा गण्डकीले कोशी प्रदेश खेलकुद विकाश परिषद्लाई ३–१ सेटमा हरायो । गण्डकीले २५–१५, २१–२५, २५–२२, २५–२० को नतिजा निकालेको थियो । 

यस्तै महिलातर्फ एपिएफले कर्णाली प्रदेश खेलकुद विकाश परिषद्लाई ३–० तथा एभरेस्ट भलिबल क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएको छ । 

जेठ १५ गतेसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ  हेल्प नेपाल स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलीस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश भलिबल सङ्घ, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द क्लब रूपन्देही सहभागी छन् । 

यस्तै महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, एभरेस्ट भलिबल क्लब बुटवल र कर्णाली प्रदेशले प्रतिष्पर्धा गर्ने छन् । 

राउन्ड रोबिनका आधारमा खेलाइने प्रतियोगितामा पुरुष र महिला दुवै विधामा विजेताले आठ लाख, दोस्रोले चार लाख र तेस्रोले दुई लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने छ । 

यस्तै उत्कृष्ट लिब्रो, सरभर,ब्लकर, लिफ्टर, स्पाइकर र टिम प्रशिक्षकलाई जनही २५/२५ हजार रुपियाँ प्रदान गरिने आयोजक नेपाल भलिबल सङ्घले जनाएको छ ।