• ९ जेठ २०८२, शुक्रबार

अञ्जली हत्या प्रकरण : श्रीमान् तीन महिनापछि पक्राउ

blog

विजयकुमार साह
ढल्केबर, जेठ ८ गते ।
श्रीमतीको हत्या आरोपमा धनुषा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका–३ बनिनियाँका हरिराम यादवलाई श्रीमतीको हत्या आरोप पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार लक्ष्मीनियामा घरको पूजा कोठामा मृत अवस्थामा फेला परेकी २० वर्षीया अञ्जली यादवको हत्या आरोपमा श्रीमान् हरिराम  पक्राउ परेका छन् ।  हत्यापछि १० महिने छोरीसहित फरार रहेका यादवलाई प्रहरीले करिब तीन महिनापछि पक्राउ गरेको हो ।

गत फागुन १७ गते अञ्जलीको शव घरको पूजा कोठामा गाडिएको अवस्थामा फेला परेको थियो । घटना सार्वजनिक भएपछि अञ्जलीका श्रीमान् हरिराम छोरीसहित फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक १० महिने छोरीको अवस्था भने अज्ञात रहेको बताउनुभयो । प्रहरीले यादवसँग सोधपुछ गरिरहेको र बालिकाको अवस्था पत्ता लगाउन अनुसन्धान जारी राखेको जानकारी दिनुभयो । 

उहाँले पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी गराउने बताउनुभयो । पत्रकार सम्मेलनमा हत्या अनुसन्धानको प्रगति, हरिराम पक्राउ प्रक्रिया र बालिकाको खोजबिनका बारेमा जानकारी दिइने प्रहरी उपरीक्षक रेग्मीको भनाइ छ ।