• ३ जेठ २०८२, शनिबार

सांसदलाई सवाल

युवालाई रोक्न नसके नेपाल वृद्धाश्रम बन्छ : सांसद थकाली

blog

काठमाडौँ, जेठ ३ गते । नेपाली कांग्रेसका युवा नेता एवम् मुस्ताङका प्रतिनिधि सभा सदस्य योगेश गौचन थकालीले युवालाई देशमा रोक्न नसके नेपाली समाज वृद्धाश्रममा परिणत हुने जोखिम रहेको बताउनुभएको छ। गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा कुराकानी गर्नुहुँदै सांसद थकालीले यस्तो बताउनुभएको हो। ‘‘युवाले तत्काल परिणाम खोज्छन्।

हामीले नेपालमा केही हुन्छ भन्ने विश्वासको वातावरण बनाउनुपर्छ। विदेश पलायन भइरहेका युवालाई रोक्न नीतिगत सुधार आवश्यक छ। युवालाई देशमा रोक्ने स्पष्ट प्रतिबद्धता नभए आगामी दिनमा नेपाली समाज वृद्धाश्रममा परिणत हुने देखिएको छ।’’ भाषणले देश नबन्ने दाबी गर्नुहुँदै सांसद थकालीले समृद्धिको आधारमा राज्य प्रष्ट हुनुपर्नेमा जोड दिनुभएको छ। 

उहाँले देश विकासका लागि कृषि क्रान्ति आवश्यक रहेको समेत बताउनुभएको छ। छिमेकी मुलुक भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था नभए पनि कृषिमा युवाको आकर्षण बढाउन र रोजगारी सिर्जना गर्न कृषि क्रान्ति आवश्यक भएको उहाँको भनाइ छ। 

पर्यटन र होटेल व्यवसाय हुँदै राजनीतिमा सक्रिय थकाली  मुस्ताङबाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ। योगेशको जन्म २०५० साल वैशाख १७ गते (मुस्ताङको थासाङ-३ लेतेमा) भएको हो। २०७९ सालमा सम्पन्न सङ्घीय संसद अन्तर्गत प्रतिनिधि सभाको निर्वाचनमा थकालीले नेपाली कांग्रेसको तर्फबाट विजयी हुँदै खाता खाेल्नुभएको हो।

उहाँले नेकपा (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई ९१४ मतले पराजित गर्नुभयो। थोरै जनसङ्ख्या नभएको हिमाली जिल्ला मुस्ताङमा योगेश गौचनले तीन हजार ९९२ मत ल्याउँदा प्रतिद्वन्द्वी एमालेका उम्मेदवार प्रेम तुलाचनले तीन हजार ७८ मत पाउनुभएको थियो। योगेश कांग्रेसका जिल्ला सभापतिसमेत रहेका पूर्व मन्त्री रोमी गौचन र आमा लक्ष्मी थकालीका छोरा हुनुहुन्छ। मुस्ताङमा राजनीतिक परिवारमा जन्मिनुमएका थकालीले विद्यालय शिक्षा ललितपुरको लिटल एन्जेल्स स्कुलबाट लिनुभयो। उहाँले २०६८ सालमा एसएलसी दिएर विद्यालय तहको पठाइ पूरा गर्नुभएको हो। उच्च शिक्षाका लागि भने उहाँ भारत जानुभयो।

बङ्गलोरस्थित एलायन्स विश्वविद्यालयबाट उहाँले ब्याचलर अफ विजनेस म्यानेजमेन्टको अध्ययन पूरा गर्नुभएको छ। राजनीति सुरु गर्नु अगाडि नै विभिन्न पेसा र व्यवसायको नेतृत्वदायी भूमिकामा सक्रिय थकालीले राजनीतिसँगै व्यवसायलाई निरन्तरता दिनुभएको छ। उहाँ होटेल र टुर्स एन्ड ट्राभल्स कम्पनीको नेतृत्वदायी भूमिकामा अझै सक्रिय हुनुहुन्छ। कृषिलाई युवासँग जोड्नुपर्छ भन्ने उहाँ केही समययता मुस्ताङमा व्यावसायिक किबी खेती गर्दै आउनुभएको छ। २०६१ सालदेखि राजनीतिमा आबद्ध थकाली जिल्ला, क्षेत्र हुँदै केन्द्रीय राजनीतिमा जोडिनुभएको हो। कांग्रेसको महासमिति सदस्य उहाँ गण्डकी प्रदेश कार्यसमिति सदस्य हुनुहुन्छ। उहाँ प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सदस्य हुनुहुन्छ।

प्रतिनिधि सभामा सबैभन्दा कम उमेरको सांसदका रूपमा परिचित गौचन भर्खरै एसियन फोरम अफ पार्लियामेन्टेरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्ट (एएफपिपिडी)को युवा समितिको अध्यक्ष निर्वाचित हुनुभएको छ। यसले उहाँलाई नेपालसँगै एसियामै युवा सांसदका रूपमा परिचित गराएको छ। एएफपीपीडी एसिया- प्रशान्त र मध्य एसियाका सांसदहरू मिलेर बनेको एक क्षेत्रीय सञ्जाल हो। जसले महिला, बालबालिका, युवा र वृद्धजस्ता कमजोर समूहको हितका लागि नीतिगत संवाद र सहकार्य प्रवर्धन गर्ने उद्देश्य लिएको छ। 

प्रस्तुत छ- नेपाली कांग्रेसका युवा नेता एवम् मुस्ताङका प्रतिनिधि सभा सदस्य योगेश गौचन थकालीसँग गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा दिनेश लुइटेलले गरेको कुराकानीका आधारमा मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको भिडियो सामग्री :