• २७ वैशाख २०८२, शनिबार

भारत-पाकिस्तान युद्ध

त्रासमा नेपाली विद्यार्थी

blog

काठमाडौँ, वैशाख २७ गते । भारत र पाकिस्तानबिच आक्रमण प्रत्याक्रमणको क्रम सुरु भएको छ । दुई साताअघि जम्मु काश्मीरको पहलगाममा आतङ्कवादी समूहको आक्रमणपछि भारतले बुधबार आतङ्कवादीका संरचनालाई लक्षित गरी जवाफी आक्रमण गरेसँगै दुई देशबिच आक्रमण र प्रत्याक्रमणको सिलसिला सुरु भएको हो । 

बुधबार भारतको आक्रमणपछि पाकिस्तानले आतङ्कवादको नाममा सैन्य इलाकामा भारतले आक्रमण गरेको भन्दै बिहीबार राति भारतीय सीमा क्षेत्रमा प्रत्याक्रमण गरेको हो । भारतको पश्चिमी सीमा क्षेत्रस्थित जम्मु, उधमपुर र पन्जाब प्रान्तका भारतीय सैन्य शिविर लक्षित गर्दै पाकिस्तानले आक्रमण गरेको जनाइएको छ । 

भारतीय सेनाको अतिरिक्त लोकसूचना महानिर्देशनालयले मध्यरातमा ड्रोन र अन्य अस्त्रसहित पश्चिमी सीमा क्षेत्रमा आक्रमण गरेको प्रस्ट्याएको छ । भारतीय सेनाले त्यसरी भएका आक्रमणको प्रत्यक्ष भिडियो प्रकाशन वा प्रसारण नगर्न चेतावनी दिएको छ । सञ्चार माध्यमले आधिकारिक सूचना मात्र प्रकाशन तथा प्रसारण गर्न उसले अनुरोध गरेको छ । सरकारविरोधी गतिविधि गरेको भन्दै भारतस्थित केही अनलाइन सञ्चार माध्यमलाई प्रतिबन्ध पनि लगाएको छ । 

नेपाली विद्यार्थी मारमा

भारत र पाकिस्तान युद्धतिर लम्कँदै गर्दा दुई देशमा अध्ययनका लागि रहेका नेपाली विद्यार्थीमा त्रास छाएको छ । बुधबार भारतले र बिहीबार पन्जाबलगायतका स्थानमा पाकिस्तानको आक्रमणपछि नेपाली विद्यार्थीले आफूहरूको ज्यान असुरक्षित रहेको जानकारी दिँदै सुरक्षाको माग गरेका छन् । बिहीबार रातको आक्रमणपछि झन् त्रास बढेको बताउँदै उनीहरूले सामाजिक सञ्जालमार्फत सुरक्षाका लागि माग गरेका हुन् ।  

यसैबिच नेपालको परराष्ट्र मन्त्रालयले हालै विकसित घटनाक्रमका सन्दर्भमा ती देशमा रहेका आफ्ना नागरिकको सुरक्षाका लागि सरकार तत्पर रहेको प्रस्ट पारेको छ । शुक्रबार मन्त्रालयले वक्तव्य जारी गर्दै पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्ण रूपमा सचेत रहेको प्रस्ट्याएको हो । वक्तव्यमा भनिएको छ, “यसका निमित्त पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ ।”

दुई देशबिचको तनावमा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उहाँका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

वक्तव्यमार्फत दूतावासका निम्न फोन नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न भनिएको छ । जस अनुसार द्वितीय सचिव वृन्दा सुवेदी खड्का +९२ ३३१३२९३११९ र आर्सलन मेहमुद +९२ ३४०५१७४२६१ नम्बर रहेका छन् । साथै इमेल ठेगाना eonislamabad@mofa.gov.np मा पनि सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।