• ८ मंसिर २०८१, शनिबार

बहुसङ्ख्यक उपत्यकावासी नगरजन्य फोहाेरको अन्तिम विसर्जनस्थल बारे अनभिज्ञ

blog

काठमाडौं, जेठ २६ गते । सरसफाइ व्यवस्थापन गर्न नसक्दा जताततै फोहाेरले दुर्गन्धित हुँदै गएको काठमाडौं उपत्यकाका बहुसङ्ख्यक मानिसलाई यहाँ उत्पादन हुने फोहोर कहाँ व्यवस्थापन गरिन्छ भन्ने बारेमा जानकारी नभएको पाइएको छ । काठमाडौं, ललितपुर र कीर्तिपुरका १० वडामा हालसालै गरिएकाे सर्वेक्षण अनुसार ८२ प्रतिशत मानिसलाई यहाँ दैनिक उठाइने फोहोर कहाँ पुर्याइन्छ भन्ने जानकारी भएको पाइँदैन ।    

अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति मातहतमा सञ्चालन भइरहेको बाग्मती सुधार आयोजना थप आर्थिक लगानी अन्तर्गत सिनामङ्गलदेखि नख्खु क्षेत्रसम्म बागमतीसँग जोडिएका ती वडाका नदी वरपर एक किमी क्षेत्रमा गरिएको सर्वेक्षणमा केवल १८ प्रतिशत उत्तरदाताले मात्रै आफूहरुले उत्पादन गरेको फोहोरको अन्तिम विसर्जनस्थलबारे जानकारी भएको बताएका थिए । 

तीन नगरका १० वडाका ६०० परिवार, व्यापारिक निकाय तथा संस्थाहरुमा गरिएको अध्ययनका क्रममा निकै धेरै उत्तरदाताले घरेलु कम्पोष्टिङप्रति अनिच्छा प्रकट गरेका छन् । “आगामी साउन १ देखि कुहिने र नकुहिने फोहोर छु्ट्याएर मात्र उठाउने घोषणा गरेको काठमाडौं महानगरपालिकाका लागि यो सबैभन्दा ठूलो चुनौती हो”, अध्ययन टोलीको नेतृत्व गरेका फोहोर व्यवस्थापन विज्ञ डा. ढुन्डीराज पाठकले भन्नुभयोे । “अहिलेकोे अध्ययनमा ६५ प्रतिशत उत्तरदाता विभिन्न कारण देखाएर फोहाेरबाट मल बनाउन अनिच्छा प्रकट गर्छन्, कति भाडामा बस्ने छन् कति परिवारको कम्पोष्टिङ गर्ने ठाउँ छैन ।” 

काठमाडौं, ललितपुर र कीर्तिपुरका १० वडा हालसालै गरिएकाे सर्वेक्षण अनुसार ८२ प्रतिशत मानिसलाई यहाँ दैनिक उठाइने फोहोर कहाँ पुर्याइन्छ भन्ने जानकारी भएको पाइँदैन 

नदी सफाइ अभियान अन्तर्गत नदी वरपरको समुदायबाट बाग्मती नदी प्रणालीमा फोहोर प्रवाह हुन नदिन आवश्यक कार्यक्रम तय गर्नुपूर्व बाग्मती समितिले ती क्षेत्रको फोहोर व्यवस्थापनबारे जानकारी लिन अध्ययन गरेको थियो । अध्ययनका क्रममा करिब २१ प्रतिशत उत्तरदाताले फोहोर सङ्कलकहरुले कुहिने नकुहिने फोहाेर एकै ठाउँमा मिसाए पनि आफूहरुले फोहोरलाई वर्गीकरण गर्ने गरेको पाठकले बताउनुभयो । सरकारले यस्तो कार्यक्रम सञ्चालन गरेको अवस्थामा ३२ प्रतिशत उत्तरदाता फोहोर छुट्याउन तयार देखिएका छन् । 

अध्ययन गरिएको क्षेत्रहरुमा ५६ प्रतिशत उत्तरदाताको फोहाेर नगरपालिका आफैले सङ्कलन गर्ने गरेको छ । करिब ४० प्रतिशत उत्तरदाताको फोहोर व्यवस्थापन निजी क्षेत्रबाट भइरहेको छ । अध्ययनको क्रममा उत्तरदाताहरु अहिलेको फोहाेर सङ्कलन प्रक्रियाप्रति असन्तुष्ट देखिएका छन् । फोहर सङ्कलन नियमित नभएको र जुनसुकै समयमा पनि सङ्कलकहरु आउने गरेको जानकारी उनीहरुले दिएका छन् । यी क्षेत्रका बासिन्दाहरुले बिहान ७ देखि ९ बजेसम्म नगरजन्य फोहोर सङ्कलन गर्न उपयुक्त हुने राय पनि दिनुभएको थियो । 

सर्वेक्षणमा भाग लिएका करिब ७० प्रतिशत घरधुरीले फोहाेर सङ्कलकलाई सेवा शुल्क तिर्दै आएका छन् । करिब ३१ प्रतिशत घरधुरीले फोहाेर सङ्कलकले प्रति महिना तीन सय सेवा शुल्क उठाउने बताउनुभयो भने २५ प्रतिशत घरधुरीले दुई सयदेखि तीन सयको बीचमा पैसा तिरिरहेको बताउनुभएको थियो ।  

सहरीकरण र मानिसको क्रयशक्ति बढेसँगे फोहोर उत्पादन दर पनि बढेको छ । यसअघिको अध्ययन र यो सर्वेक्षणको तुलनात्मक विश्लेषण गर्दा विगत एक दशकमा १० प्रतिशतले फोहोर उत्पादन बृद्धि भएको पाइएको छ । यस अघि प्रतिव्यक्ति ०.३७ किलोग्राम फोहोर उत्पादन हुने गरेको तर हाल ०.३९ किलोग्राम फोहोर उत्पादन हुने गरेको छ । फोहोर सङ्कलन प्रभावकारी नहुँदा सङ्कलनमा ढिलाइ हुँदा उपत्यकाबासीले खाली क्षेत्र, नदीलगायतका स्थानमा फोहोर फाल्ने गर्छन् । त्यसलाई रोक्न र बागमती नदीमा फोहाेर मिसिन नदिन आयोजनाले सामुदायिक नेतृत्व विकास मार्फत बाग्मतीको पर्यावरण सुधार कार्यक्रममार्फत विभिन्न सचेतनामूलक कार्यक्रम अघि बढाएको छ । 

यसअघिको अध्ययन र यो सर्वेक्षणको तुलनात्मक विश्लेषण गर्दा विगत एक दशकमा १० प्रतिशतले फोहोर उत्पादन बृद्धि भएको पाइएको छ । 

अध्ययनले काठमाडौंमा उत्पादन हुने फोहरमध्ये करिब ७५ प्रतिशत कुहिने खालको छ, ललितपुर महानगरका वडाहरुमा कुहिने फोहोरको हिस्सा ८२ प्रतिशत छ, कीर्तिपुरमा भने कुहिने फोहरको परिमाण ५९ प्रतिशत छ । फोहाेर उत्पादनको बारेमा जानकारी लिन आयोजनाले तालिम प्राप्त सर्वेक्षहरुलाई घरघरमा पठाएको थियो । उहाँहरुले उत्तरदाताहरुलाई निश्चित अवधिको फोहोर सङ्कलनका लागि प्लाष्टिक सीट उपलब्ध गराएको थियो भने सङ्कलित फोहोरलाई विभिन्न अन्तरालमा निरीक्षण गरी तथ्याङ्क सङ्कलन गरिएको थियो । घरायसी फोहोरमा मात्रै कुहिने फोहोरको मात्रा उच्च छ । व्यावसायिक निकाय र विभिन्न संस्थाबाट उत्पादन हुने फोहोरमध्ये क्रमशः ३४ प्रतिशत र २४ प्रतिशत मात्रै कुहिने फोहोर छ । 

अध्ययन टोलीले उपत्यकाको फोहर व्यवस्थापनलाई सहज बनाउन, बाग्मती लगायतका नदीनाला र खुल्ला ठाउँमा फोहाेर विसर्जन हुनबाट रोक्न र स्यानिटरी ल्याण्डफिल साइटको प्रभावकारिताका लागि केही सुझाव दिएका छन् । जसअनुसार घर र समुदाय स्तरको कम्पोष्टिङ कार्यक्रम गरी फोहोर घटाउन सकिने हुन्छ । त्यसैगरी प्लाष्टिक बोतल लगायत प्रशाेधनयोग्य वस्तुहरू छुट्याउन म्याटरियल रिकोभरी साइटहरु निर्माण गर्न र फोहोर व्यवस्थापन विधिबारेमा आम समुदायलाई प्रशिक्षित गर्न व्यापक अभियान चलाउन पनि सुझाव दिएका छन् । 

यता नदी प्रणालीलाई सफा राख्न फोहाेरको व्यवस्थापन प्रमुख हुने भन्दै नदी वरिपरि फोहोर फाल्ने, नदी सफा नहुने समस्यालाई नियन्त्रण गर्न आयोजनाले काम सुरु गरेको छ । नदी सफा राख्नुमा पहिलो चरणमा फोहोरको व्यवस्थापन नै मुख्य भएको बाग्मती सुधार आयोजनाकी उपआयोजना निर्देशक रमिता श्रेष्ठले बताउनुभयो । आयोजनाले नदी सफाइको काम गर्दै आएको र सामुदायिक नेतृत्व विकास मार्फत वागमतीको पर्यावरण सुधार कार्यक्रमले अन्र्तगत फोहोरको दिगो व्यवस्थापनसँगै नदी सफाइमा काम गर्दै आएको बताउनुभयो । आयोजनाले नदीमा फोहोर फाल्न नदिन र नियमित रुपमा अनुगमन गर्नका लागि गस्ती सुरु गरेको र सिसिटिभी क्यामेरा जडान गरेर नदी प्रणालीलाई सुधार गर्ने तयारीमा आयोजना जुटेको उहाँले जानकारी दिनुभयो । 

प्लाष्टिक बोतल लगायत प्रशाेधनयोग्य बस्तुहर छुट्याउन म्याटरियल रिकोभरी साइटहरु निर्माण गर्न र फोहोर व्यवस्थापन विधिबारेमा आम समुदायलाई प्रशिक्षित गर्न व्यापक अभियान चलाउन पनि सुझाव

आयोजनाले काठमाडौंका आठ, ललितपुरका आठ र कीर्तिपुरका तीन वटा गरी जम्मा  १९ वटा वडामा प्रत्यक्ष रुपमा फोहोर व्यवस्थापन, सामुदायिक सहभागिता र नदी सफाइ बारे कार्यक्रम गर्दै आएको सामुदायिक नेतृत्वा विकासमार्फत वागमतीको पर्यावरण सुधार कार्यक्रमका टिम लिडर प्रभा पोख्ररेलले जानकारी दिनुभयो । 


आयोजनाले घरघरमा उत्पादन हुने कुहिने फोहोरबाट मल बनाउन अभियान नै चलाइरहेको छ । घरमा थोरै ठाउँ हुने परिवारले पनि साना कम्पोष्टिङ वीनहरुको प्रयोग गरी फोहोर कुहाउन सक्छ । त्यसका लागि आयोजनाले सहुलियत दरमा वीनहरु उपलब्ध गराइरहेको छ । “अहिलेसम्म बाग्मतीको सुन्दरीजलदेखि सिनामंगल क्षेत्रमा मात्रै हामीले करिब छ हजार यस्ता वीनहरु उपलब्ध गराइसक्यौं । सिनामङ्गलदेखि नख्खु क्षेत्रको नदी वरपरका बस्तीमा पनि वीनहरु उपलब्ध गराइरहेका छौं ।” टोलीनेता पोख्रेलले भन्नुभयो । बजारमा करिब चार हजार मूल्य पर्ने यी वीनहरु आयोजनाले एक हजार ३५० रुपियाँमा नै उपलब्ध गराइरहेको छ । 

आयोजनाले काठमाडौंका आठ, ललितपुरका आठ र कीर्तिपुरका तीन वटा गरी जम्मा  १९ वटा वडामा प्रत्यक्ष रुपमा फोहोर व्यवस्थापन, सामुदायिक सहभागिता र नदी सफाइ बारे कार्यक्रम गर्दै आएका छन्

 आयोजनाले फोहर छिटो कुहाउने तरिकाहरुको बारेमा स्थानीयलाई तालिम पनि प्रदान गरिरहेको छ । “वीन घरको जहाँ राखेपनि हुन्छ, गर्मीमा त करिब ४५ दिनमा नै फोहरबाट मल बन्छ, त्यसलाई गमला वा करेसाबारीमा प्रयोग गर्न सकिन्छ, यसरी घरेलु मल बनाउँदा गन्ध नआउने भएकोले यो प्रभावकारी छ” उहाँले भन्नुभयो । यसका साथै आयोजनाले इच्छुक परिवारलाई गँड्यौला पालन तथा करेसाबारी खेतीका बारेमा पनि प्रशिक्षण दिइरहेको छ ।  

भान्छाको फोहोरलाई नदी प्रणालीसम्म जानबाट रोक्न सकियो भने नदी प्रणालीलाई सफा राख्न ठूलो सघाउ पुग्छ । घरघरमै कुहिन फोहाेर व्यवस्थापन भएको अवस्थामा ल्याण्डफिल्ड साइटको आयु बढाउन, फोहाेर सङ्कलन तथा ढुवानी र विसर्जन प्रभावकारी बनाउन नगरपालिकाहरुलाई सजिलो पर्ने आयोजनाले जनाएको छ । 

Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।