काठमाडौँ, वैशाख २५ गते । भारत र पाकिस्तानबिचको तनाव थप उच्च बनेको छ । भारतले बुधबार बिहानै जम्मु काश्मीर र पाकिस्तानी सीमा क्षेत्रमा ‘अपरेसन सिन्दूर’ नाममा क्षेप्यास्त्र प्रहार गरेपछि दुई देशबिच तनाव थप उच्च बनेको हो । यस घटनासँगै दुई देशबिच सम्भावित युद्धको खतरा प्रबल भएको छ ।
दुई साताअघि भारत प्रशासित काश्मीरको पहलगाममा एक जना नेपाली नागरिकसहित २६ जनाको मृत्यु हुने गरी भएको आक्रमणको बदलामा भारतले क्षेप्यास्त्र प्रहार गरेको ठानिएको छ । भारतले गरेको आक्रमणमा पनि २६ जनाको मृत्यु भएको जनाइएको छ । करिब चार सय जना घाइते भएको अनुमान गरिएको छ ।
भारतको रक्षा मन्त्रालयले क्षेप्यास्त्र आक्रमणलगत्तै वक्तव्यमार्फत आक्रमणको पुष्टि गरेको छ । रक्षा मन्त्रालयको वक्तव्यमा भनिएको छ, “केही समयअघि भारतीय सशस्त्र बलले पाकिस्तान र पाकिस्तानद्वारा कब्जा गरिएको जम्मु काश्मीरमा आतङ्कवादीका भौतिक संरचनामा प्रहार गर्दै ‘अपरेसन सिन्दूर’ सुरु ग¥यो, जहाँबाट
भारतविरुद्ध आतङ्कवादी आक्रमणहरूको योजना निर्देशित गरिएको थियो ।” उसका अनुसार सो क्षेप्यास्त्र त्यहाँका नौ स्थानलाई लक्षित गरी प्रहार गरिएको थियो ।
भौतिक पूर्वाधारहरूलाई नष्ट गर्ने योजना अनुसार भएको आक्रमण अत्यन्त संयमित रहँदै पाकिस्तानका सैनिक निकायतर्फ लक्षित नगरेको भारतको रक्षा मन्त्रालयले प्रस्ट पारेको छ । वक्तव्य अनुसार यो कदम पहलगाममा भएको बर्बर आक्रमणको घटनाको प्रतिक्रिया हो । सोही आक्रमणमा जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउने प्रयास यस आक्रमणले गरेको पनि भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।
कायरतापूर्ण आक्रमण : पाकिस्तान
पाकिस्तानी नागरिकलाई लक्षित गर्दै भारतले गरेको आक्रमण कायरतापूर्ण रहेको औँल्याउँदै पाकिस्तान सरकारले कडा निन्दा गरेको छ ।
पाकिस्तानका प्रधानमन्त्री सेवाज सरिफले भारतलाई शत्रुको संज्ञा दिँदै पाँच स्थानमा भएको दुष्टतापूर्ण आक्रमणको जवाफ दिइने प्रतिक्रिया अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई दिनुभएको छ ।
भारतीय आक्रमणका विरुद्ध निर्णायक प्रतिक्रिया दिने अधिकार पाकिस्तानसँग रहेको उल्लेख गर्दै उहाँले शत्रुको दुर्भावनापूर्ण उद्देश्य हासिल गर्न कदापि नदिइने वक्तव्यमार्फत प्रस्ट पार्नुभएको छ । सरकारका तर्फबाट पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ, “हामी भारतको कायरतापूर्ण कार्यको कडा निन्दा गर्छौं, जुन संयुक्त राष्ट्रसङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र अन्तरराज्य सम्बन्धको स्थापित मान्यताको स्पष्ट उल्लङ्घन हो ।”
वक्तव्यमा भनिएको छ, “भारतको आक्रामक कार्यले महिला र बालबालिकासहित सर्वसाधारणको मृत्यु भएको छ । यो आक्रामक कार्यले व्यावसायिक हवाई यातायातमा पनि गम्भीर खतरा निम्त्याएको छ ।”
पाकिस्तानका रक्षामन्त्री खवाजा आसिफले गैरसैनिक नागरिक बस्ने इलाकामा आक्रमण भएको भन्दै रोष प्रकट गर्नुभएको छ । आक्रमणमा मारिएका २६ मध्ये एक बालक र एक महिला रहेको उहाँले जानकारी दिनुभयो ।
सीमापार पानी बग्न नदिने भारतको उद्घोष
पहलगाम घटनालगत्तै भारतले पाकिस्तानसँगको ६५ वर्ष पुरानो सिन्धु जल सम्झौता रद्द गरिसकेको छ । पाकिस्तानमा रहेका कूटनीतिक अधिकारीको कटौती गर्दै दिल्लीमा रहेका पाकिस्तानी दूतलाई देश निकाला गरेको छ । साथै भारतमा रहेका पाकिस्तानी राहदानीवाहकलाई पनि घर फर्कन अनुरोध गरिएको थियो ।
सम्झौता रद्द गरेसँगै बुधबारदेखि भारतीय भूमिबाट पाकिस्तान जाने नदीहरूबाट पानीसमेत सीमापारि जान नदिने उद्घोष भारत सरकारले गरेको छ । प्रधानमन्त्री मोदीले भन्नुभएको छ, “अब भारतको पानी भारतकै फाइदाका लागि बग्ने छ, भारतको फाइदाका लागि संरक्षण गरिने छ र त्यसको उपयोग भारतको प्रगतिका लागि गरिने छ ।” उहाँ आफ्नो युरोप भ्रमणसमेत स्थगित गरेर पाकिस्तान लक्षित प्रत्याक्रमणमा जुट्नुभएको छ ।
संयमित रहन संयुक्त राष्ट्रसङ्घको अपिल
संयुक्त राष्ट्रसङ्घले भारत र पाकिस्तानलाई संयमित रहन अपिल गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले भारत र पाकिस्तानलाई सैन्य संयमता अपनाउन अपिल गर्नुभएको हो । उहाँले कूटनीतिक नोटमार्फत भन्नुभएको छ, “विश्वले भारत र पाकिस्तान बिचको सैन्य टकराब सहन सक्दैन ।”
दुई दक्षिण एसियाली छिमेकीहरूबिचको तनाव बर्सौंपछि फेरि सबैभन्दा उच्च बिन्दुमा पुगेको र त्यो यस क्षेत्रका लागि पनि उपयुक्त नभएको भन्दै चेतावनी दिनुभएको छ । उहाँले दुई देशबिचको तनाव कम गर्न र कूटनीतिक माध्यमको प्रयोग गर्दै दुवै सरकारलाई आफ्नो सद्भाव प्रस्ताव गरेर अघि बढ्न सुझाउनुभएको छ । उहाँले सैन्य समाधान कुनै समाधान नभएको औँल्याउँदै सुझबुझका साथ काम गर्न आग्रह गर्नुभएको छ ।
विश्व नेतृत्वबाट समर्थन र विरोध दुवै भारत–पाकिस्तान आक्रमण प्रत्याक्रमणको घटनालाई विश्वका उच्च नेतृत्वमध्ये कसैले समर्थन र कसैले विरोध गरेका छन् ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबिचको यस घटनालाई दुःखद भएको भन्दै शान्तिको कामना गर्नुभएको छ । चीन सरकारले भारतले पाकिस्तानमाथि गरेको हवाई आक्रमण चिन्ताजनक रहेको टिप्पणी गरेको छ । चीनको विदेशमन्त्रालयका प्रवक्ता माओ निङले वक्तव्यमार्फत भारतको सैन्य कारबाही दुर्भाग्यपूर्ण रहेको उल्लेख गर्नुभएको छ । इजरायलले भारतको समर्थन गरेको छ भने अन्य धेरै मुलुकहरूले संयम अपनाउन भनेका छन् ।