• २६ वैशाख २०८१, बुधबार

पाँचदलीय गठबन्धन कायम रहन्छ : जसपा अध्यक्ष यादव

blog

धर्बेन्द्र झा 

धनुषा,जेठ २५ गते । जनता समाजवादी पार्टीका अध्यक्ष एवम पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनसम्म  पाँचदलीय गठबन्धन कायम रहने बताउनुभएको छ ।

 प्रेस मञ्च धनुषाले बुधबार बिहान जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले पाँचदलीय गठबन्धनभित्र विभिन्न खालका कमी कमजोरी भए पनि लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गठन भएको पाँचदलीय गठबन्धन लामो समय सम्म चलिरहने पक्षमा आफूहरु सदैव रहेको बताउनुभयो । उहाँले पाँचदलीय गठबन्धनले लोकतन्त्र संस्थागत गर्न भूमिका खेलेको भन्दै दलहरुले अनेक त्रुटिका बावजुद पाँचदलीय गठबन्धनलाई कायम राख्नुपर्ने धारणा राख्नुभयो ।

विगतमा आफ्नो पार्टी विभाजन भएपछि स्थानीय तहको निर्वाचनमा मधेशको जनमत विभाजन भएको भन्दै त्यसले कसैलाई फाइदा नभएको बताउनुभयो । उहाँले विगतका सन्दर्भमा समीक्षा गरी पुन: जसपा र लोसपा एक हुनुपर्ने भन्दै एकताका लागि आफूहरु खुला हृदयले तयार रहेको बताउनुभयो । उहाँले वर्तमान निर्वाचन प्रणाली त्रुटिपूर्ण रहेको भन्दै नेपालको निर्वाचन प्रणालीमा सुधारको खाँचो रहेको बताउनुभयो । 

विश्वको ७१ वटा देशमा समानुपातिक निर्वाचन प्रणालीमार्फत पार्टीलाई मतदान हुने गरेको भन्दै निर्वाचन प्रणाली फेरिनुपर्ने उहाँको तर्क छ । उहाँले तराई मधेशको जनसङ्ख्या ५३ प्रतिशत रहेको कारण अब जनसङ्ख्याको आधारमा पुन: निर्वाचन क्षेत्र कायम गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिन वर्तमान संसदबाटै विधेयक पास हुने र त्यसका लागि वर्तमान सरकार अघि बढी सकेको बताउनुभयो । उहाँले वर्तमान संविधानको धारा ४६ मा समाजिक न्यायको हकसम्बन्धी व्यवस्था कायम रहेकोले सो व्यवस्था बमोजिम राज्यले राजनीतिक र आर्थिकरुपले पछि परेकाहरुको प्रतिनिधित्व गराउन तर्फ अग्रसर हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहितका नेताहरुको उपस्थिति थियो ।