अजय शाह
गौशाला (महोत्तरी), फागुन २९ गते । महोत्तरीको रामगोपालपुर नगरपालिका–६ स्थित विशम्भरपुरमा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको स्वास्थ्य जाँचबिनै औषधी वितरण गरिएको गुनासो सार्वजनिक भएको छ।
उक्त स्वास्थ्य केन्द्रमा कार्यरत कार्यालय सहायक काजलकुमारी मण्डलले उपचारका लागि आउने बिरामीलाई स्वास्थ्य जाँच नगरी औषधी दिने गरेको पाइएको हो। एसइई उत्तीर्ण मण्डलले स्वास्थ्य संस्थामा आउने बिरामीले बताएका लक्षणका आधारमा उपलब्ध औषधी दिने गरेको स्वीकार गर्नुभएको छ।
उहाँका अनुसार स्वास्थ्य केन्द्रमा प्रायः एक्लैले ड्युटी सम्हाल्नुपर्ने अवस्था रहेको छ। उहाँले भन्नुभयो, “यहाँ प्रायः म एक्लैले ड्युटी सम्हाल्छु। दिनभरि आउने बिरामीलाई सेवा दिनुपर्छ। कार्यालय प्रमुख सीअहेव सुरेश महतो प्रायः बाहिर बस्नुहुन्छ। बिरामीले आफ्नो समस्या बताएपछि सोही आधारमा यहाँ उपलब्ध औषधि दिएर पठाउने गर्छु। समस्या स्पष्ट नभएमा भने फोनमार्फत सीअहेव महतोसँग सल्लाह लिने गर्छु।”
स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख महतो सो संस्थाका एक मात्र स्थायी कर्मचारी हुनुहुन्छ। केही दिनअघिदेखि उहाँले सोही पालिकाको वडा नम्बर–६ को वडासचिवको जिम्मेवारीसमेत सम्हाल्दै आउनुभएको छ। दोहोरो जिम्मेवारीका कारण उहाँले स्वास्थ्य संस्थामा कहिलेकाहीँ मात्र समय दिने गरेको स्थानीयवासीको आरोप छ।
रामगोपालपुर नगरपालिका–६ का स्थानीय राम बिनय यादवले स्वास्थ्य केन्द्रको अवस्थाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “स्वास्थ्य जाँच नगरी औषधि वितरण गर्नु अत्यन्त गैरजिम्मेवार र जोखिमपूर्ण काम हो। यसले बिरामीको स्वास्थ्यसँग प्रत्यक्ष खेलवाड हुन्छ। जिम्मेवार कर्मचारी आफ्नो कार्यस्थलमा नबस्दा सर्वसाधारणले कसरी विश्वास गर्ने रु यस्तो लापरबाही रोक्न सम्बन्धित निकायले तत्काल आवश्यक कदम चाल्नुपर्छ।”
यस विषयमा रामगोपालपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्छेलाल दासले नगरपालिकाभर निजामती कर्मचारीको अभाव भएकाले महतोलाई वडा नम्बर–६ को वडासचिवको रूपमा थप जिम्मेवारी दिइएको जानकारी दिनुभयो। उहाँका अनुसार जिम्मेवारी दिँदा स्वास्थ्य संस्थामा अधिकांश समय बिताउनुपर्ने कुरा पत्रमै उल्लेख गरिएको थियो, तर त्यसको पालना नभएकाले समस्या देखिएको हो।
स्थानीयवासीका अनुसार स्वास्थ्य केन्द्रमा नियमित सरसफाइको अभावका कारण फोहोर बढ्दै गएको छ भने सेवा व्यवस्थापन पनि अस्तव्यस्त बन्दै गएको छ।
यसैबीच, स्वास्थ्य केन्द्र कार्यालयको मुख्य प्रवेशद्वार भाँचिँदा तीन बालक घाइते भएका छन्। आइतबार सार्वजनिक बिदाको दिन खेल्ने क्रममा सो घटना भएको हो।
घाइते हुनेमा स्थानीय विरेन्द्रकुमार यादवका ७ वर्षीय छोरा रबिन यादव, मनोज यादवका ७ वर्षीय छोरा गौतम यादव र शिवशंकर यादवका ८ वर्षीय छोरा दिपेश यादव रहेका छन्। उनीहरूमध्ये रबिन यादवको अवस्था गम्भीर रहेको बताइएको छ।
रबिनको कम्मरमा गम्भीर चोट लागेकाले थप उपचारका लागि उनलाई काठमाडौँ लगिएको उनका बुबा विरेन्द्रकुमार यादवले जानकारी दिनुभयो। मधेश प्रदेश सरकारको लागतमा करिब ४५ लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको पर्खाल र मुख्य गेट केही दिनअघि मात्र निर्माण सम्पन्न भएको बताइएको छ।
घटनाबारे रामगोपालपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दासले विस्तृत रूपमा बुझेर आवश्यक कदम चालिने बताउनुभएको छ। उहाँका अनुसार बिदाको दिन घटना भएकाले कार्यालय बन्द हुँदा घटनाको वास्तविक विवरण अझै पूर्ण रूपमा बाहिर आउन सकेको छैन।