काठमाडौँ, वैशाख १३ गते । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य, पूर्व मन्त्री एवम् भोजपुरका प्रतिनिधि सभा सदस्य सुदन किरातीले देश विकासका लागि शिक्षा, कृषि र विकास नीति परिवर्तन हुनुपर्नेमा जोड दिनुभएको छ । गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा कुराकानी गर्नुहुँदै सांसद किरातीले भन्नुभयो, ‘नेपालको विकास नीति पहाडमा छुट्टै, तराईमा छुट्टै र हिमालमा छुट्टै हुनुपर्छ । यत्ति गर्न सकेमा मात्र बसाइसराइ रोकिन्छ ।’ उहाँले नेता, शिक्षक र कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढाउन सके सरकारी शिक्षा पढ्न योग्य बन्ने बताउनुभयो । ‘‘सम्पूर्ण जनप्रतिनिधि र राजनीतिक पार्टीका मान्छे, राज्यको सुविधा खाने सम्पूर्ण कर्मचारी र शिक्षकका छोराछोरी सरकारी विद्यालय पढाउने हो भने शिक्षा आफैँ पढ्न योग्य बन्छ। आज कलम र कपी किन्न नसक्ने मान्छेका छोराछोरी मात्र सरकारी विद्यालयमा छन् । नलजाइ भन्दा यो हाम्रो देशको दशा हो । यो समस्याको समाधान सामूहिक प्रतिबद्धताले मात्र समाधान हुन्छ ।’’ उहाँले राजनीतिक प्रतिबद्धता अनुसार कृषि नीति परिवर्तन गर्नुपर्नेमा समेत जोड दिनुभएको छ ।
माओवादीभित्र युवा पुस्ताका चर्चित नेता किरातीको जन्म हङकङ (चीन)मा भएको हो । ब्रिटिस आर्मी बुवा हर्कराज राई र आमा रक्षाकुमारीको कोखबाट उहाँको हङकङको सेकङ अस्पतालमा २०३५ साल फागुन १८ गते जन्म भएको हो । उहाँको बाल्यकाल लाहुरे बुवाको सरुवासँगै हङकङ र ब्रुनाइमा बित्यो । राई सात वर्षको हुँदा उहाँका बुवाको लाहुरे जीवनबाट अवकास भयो । बुवाको अवकासपछि नेपाल फर्किएर धरानमा बस्ने र तराईंमा जग्गा किन्ने सपना थियो । तर आमा रक्षाकुमारीले गाउँनै जानुपर्छ भनेपछि उनको परिवार २०४२ सालमा भोजपुर फर्कियो । एउटा उज्यारो संसारबाट गाउँमा पुग्दा अध्यारोमा पुगेको अनुभव उहाँलाई भएकोे थियो । भोजपुर पुगेपछि राईले कति पटक आमालाई आफ्नै गाउँ ब्रुनाइ जान करसमेत गर्नुभयो । तर त्यो विकल्प सकिएको उहाँलाई थाहै थिएन । भोजपुर गएपछि रामप्रसाद गाउँपालिका वडा नम्बर १ साविक ओर्खेमा उहाँको बाल्यकाल बित्यो । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना हुँदा राई कक्षा ५ मा पढ्नुहुन्थ्यो । उहाँले श्री कालिका प्राविबाट औपचारिक शिक्षा प्रारम्भ गर्नुभयो भने भुल्केको पञ्चकन्या माविबाट एसएलसी दिनुभयो । भोजपुर क्याम्पसमा भर्ना भए पनि उहाँले औपचारिक शिक्षालाई निरन्तरता दिन सक्नुभएन । उहाँको राजनीतिक जीवनको सुरुवात एमालेको विद्यार्थी सङ्गठन अखिलबाट भएको हो । तर बाल्यकालमै माओको नेतृत्वमा चीन बनेको कुरा बुवाबाट सुन्नुभएका राई विस्तारै माओवादीको राजनीतितर्फ लाग्नुभएको हो ।
सुरुमा उहाँ गोपाल किरातीको सशस्त्र सङ्घर्षको योजनामा समाहित हुनुभयो । किरातीको कार्यदिशा माओवादीसँग एक हुनुपर्छ भन्ने थियो । यो २०५४ साल तिरको कुरा हो । त्यत्तिबेला माओवादी पूर्वमा थिएन । भोजपुरमा माओवादी भए पनि भेट्ने कुरा नै हुने थिएन । गोपाल किरातीले तत्कालीन नेकपा (माओवादी)सँग पार्टी एकता गरे लगत्तै उहाँ २०५९ सालमा भोजपुर, उदयपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, सप्तरी सिराहा र धनुषा गरेर आठ जिल्ला समेटिएको जनकपुर सगरमाथा ब्युरोको क्षेत्रीय सदस्य बन्नुभयो ।
राई २०६१ सालको पुस महिनामा तत्कालीन शाही नेपाली सेनाको घेरामा पर्नुभयो । पार्टीको कामका लागि उदयपुरको बलम्ला निवासी बखत राईको घरबाट राईलाई सेनाले नियन्त्रणमा लिएको थियो । त्यसपछि उहाँले २३ महिना कष्टपूर्ण बन्दी जीवन बिताउनुभयो । उहाँ सिराहा र विराटनगरको कारागारमा बस्नुभएको थियो। त्यसपछि धनकुटा पार्टी सचिव, किराती राष्ट्रिय मुक्ति मोर्चाको महासचिवको जिम्मेवारी सम्हाल्नुभएका राई २०६४ सालमा सम्पन्न पहिलो संविधानसभाको चुनावमा भोजपुर–२ बाट संविधानसभा सदस्य बन्नुभयो ।
पार्टीमा विभिन्न जिम्मेवारी सम्हाल्नुभएका राई २०७० सालमा किराती मोर्चाको अध्यक्ष बन्नुभयो । उहाँले पार्टी भोजपुरको इन्चार्ज, अध्यक्ष भएर कामसमेत गर्नुभयो । २०६४ पछि चार वटा चुनाव लड्नुभएका राईले एउटामा पराजयको सामना गर्दा तीन वटामा निर्वाचनमा विजयी हुनुभयो । २०७० को चुनावमा नेकपा एमालेका नेता शेरधन राईसँग पराजित नेता किरातीले त्यसपछि २०७४ र २०६९ को चुनावामा विजयी हुनुभएको हो । पूर्व संस्कृति तथा पर्यटनमन्त्रीसमेत रहनुभएका राईसँग १३ महिना मन्त्री बनेको अनुभव छ । अहिले उहाँ प्रतिनिधि सभाको अन्तराष्ट्रिय समिति सदस्यसमेत हुनुहुन्छ । उहाँको ‘पलपल मृत्यु’ पुस्तकसमेत प्रकाशित छ । प्रतिबद्धता नै देश बनाउने सूत्र भएको सुनाउने राई समाजसँगको सङ्घर्षले नै देश बन्ने दाबी गर्नुहुन्छ ।
प्रस्तुत छ– नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य, पूर्व मन्त्री एवम् भोजपुरका प्रतिनिधि सभा सदस्य सुदन किरातीसँग गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा दिनेश लुइटेलले गरेको कुराकानीका आधारमा मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको भिडियो सामग्री :