• ९ कात्तिक २०८२, आइतबार

वातावरण बने जन्मभूमिमा लगानी गर्न इच्छुक छौं : प्रवासी नेपाली व्यवसायी

blog

अमेरिकाको डालसमा हिमालय खबर अनलाइनले आयोजना गरेको ‘व्यापार तथा लगानी सम्मेलन २०२५’ सहभागी नेपाली मूलका व्यावसायीहरु ।

अमेरिका (टेक्सस), कात्तिक ९ गते । अमेरिकाको टेक्ससमा बस्दै आएका नेपाली मूलका व्यवसायीहरुले अनुकूल वातावरण बने स्वदेशमा लगानी गर्न तयार रहेको बताएका छन् । जन्मभूमिको आर्थिक रुपान्तरणका लागि आफूहरु नेपालको उद्योग व्यवसायमा लगानी गर्न इच्छुक रहेको बताउदै उनीहरुले लगानीमैत्री वातावरणका लागि सरकारसँग आग्रह गरेका छन् ।

अमेरिकाको डालसमा हिमालय खबर अनलाइनले गरेको ‘व्यापार तथा लगानी सम्मेलन २०२५’ सहभागी नेपाली मूलका व्यावसायीहरुले उक्त कुरा बताएका छन् । मातृभूमिको आर्थिक समृद्धिका लागि विदेशमा कमाएको पैसा लगानी गर्न तत्पर रहेको कुरामा जोड दिँदै व्यवसायीहरुले नीतिगत सहजिकरण आवश्यक रहेको बताए ।


अमेरिकामा सफल व्यवसायीको पहिचान बनाउनुभएका गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीले नेपालमा निर्धक्क लगानी गर्ने वातावरणका लागि सरकारी संवेदनशीलता आवश्यक रहेको बताउनुभयो । ‘‘प्रतिफल सुरक्षासहित लगानी गर्ने वातावरणका लागि लामो समयदेखि डायस्पोरामा रहेका नेपालीहरुले आग्रह गर्दै आएका छौं,’’ सम्मेलनमा जोशीले भन्नुभयो, ‘‘नेपालमा अहिले देखिएको उतारचढावको व्यवस्थापनसहित व्यापार व्यवसायका लागि चाडैँ नै आशाको सञ्चार हुने हाम्रो विश्वास छ ।’

अर्का व्यवसायी बासुदेव भण्डारीले नेपालमा लगानी तथा व्यवसायको वातावरण सहज नभएको बताउनुभयो । उहाँले लगानीको वातावरणका लागि निजी क्षेत्रले समेत सहजिकरण गर्नुपर्ने बताउनुहुँदै डायस्पोरा समुदायलाई आफू जन्मेको ठाउँमा लगानी गर्न आग्रह गर्नुभयो ।


टेक्ससका विभिन्न स्थानबाट सम्मेलनमा सहभागी नेपाली समुदायका व्यवसायीहरुले स्वदेशमा लगानीका लागि देखिएका कानुनी अड्चनको अन्त्य, लगानी र व्यवसायको सुरक्षाका लागि आग्रह गरेका छन् ।

सम्मेलनका मुख्यवक्ता उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका बारेमा नकारात्मक धारणा बन्दै गएको भए पनि लगानीको प्रचुर सम्भावनालाई नर्कान नमिल्ने बताउनुभयो । उहाँले लगानीकर्ताको मनोवल उच्च राख्न आवश्यक रहेको कुरामा जोडदिनुहुँदै डायस्पोरा समुदायलाई नेपालमा उद्योग व्यवसाय सञ्चालनका लागि सहजिकरण गर्न आफूहरु तयार रहेको बताउनुभयो ।

पछिल्लो जेनजी आन्दोलनका कारण पुगेको क्षतिका कारण उद्योगी व्यवसायीको मनोवल खस्केको उल्लेख गर्नुहुँदै अध्यक्ष ढकालले उद्योग व्यवसायमा भौतिक क्षति पुर्‍याउने र लुटपाट गर्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने आफूहरुको स्पष्ट माग रहेका बताउनुभयो । नेपालको पर्यटन र उर्जा लगानीका लागि उपयुक्त क्षेत्र हुने बताउँनुहुँदै लगानीका लागि डायस्पोरा समुदायलाई आह्वान गर्नुभयो ।

सम्मेलनमा विशिष्ट अतिथि गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले लगानीमैत्री वातावरणका लागि सञ्चारमाध्यमको रचनात्मक पहल आवश्यक रहेको बताउनुभयो । नेपालमा केही पनि हुँदैन, केही पनि छैन भन्ने भाष्य गलत रहेको बताउनुहुँदै महाप्रबन्धक ऐरीले सकारात्मक सोचका साथ नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । टेक्ससस्थित नेपाल सरकारका वाणिज्यदूत प्रविण भट्टराईले लगानीको वातावरण निर्माण गर्ने कुरामा आफूहरु प्रतिवद्ध रहेको बताउनुभयो ।


सम्मेलनका सभापति हिमालय खवरका प्रबन्ध सम्पादक विकासराज न्यौपानेले नेपालमा लगानीमैत्री वातावरणका लागि देखिएका समस्याहरुको पहिचान र सहजिकरण आवश्यक रहेको बताउनुभयो । प्रबन्ध सम्पादक न्यौपानेले विदेशका रहेका नेपालीको नेपालमा सहज रुपमा लगानी गर्ने चाहनालाई सार्थक बनाउन आफूहरुले निरन्तर दवाव सिर्जना गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा टेक्ससको विभिन्न स्थानमा रहेर व्यवसाय सञ्चालन गर्दै आउनुभएका उल्लेख्य व्यवसायीहरुको सहभागीता रहेको थियो  ।