• ४ जेठ २०८१, शुक्रबार

यौन हिंसाले समाजमा विकृति ल्याएको छ : गृहमन्त्री खाण

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ २४ गते । गृहमन्त्री बालकृष्ण खाणले यौन हिंसाबारे जानकारी दिने सामग्री पाठ्यपुस्तकमा समावेश गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

मङ्गलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले बाँकेमा भएको सामूहिक बलात्कारबारे उठाउनुभएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री खाणले घटनामा संलग्न सातजना पक्राउ परेको र हदैसम्म कारबाही गर्ने बताउनुभयो ।

त्यस्तै, यौन हिंसाले समाजमा धेरै विकृति ल्याएको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार बाँकेको सामूहिक बलात्कारको घटनामा १६ देखि २५ वर्षमुनिका युवाहरु संलग्न छन् ।

‘‘बाँकेको सामूहिक बलात्कारको घटनामा १६ देखि २५ वर्ष उमेर समूहका युवा संलग्न भएको पाइएको छ ।,’’ गृहमन्त्री खाणले भन्नुभयो, ‘‘त्यसले गर्दा पनि उनीहरुलाई ओरियन्टशन र शिक्षाको पाटो पाठ्यपुस्तकमा समेत जानकारीमूलक विषय थप्न जरुरी रहेको म सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’’

यसैगरी, उहाँले बर्दिया जिल्लाको मधुवन नगरपालिका २ मा सोमबार नवीना थारुको मृत्यु भएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिनुभयो ।

गृहमन्त्री खाणले गृहका सहसचिव हरि घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिनुभयो ।

समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक (सहसचिव) वेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्ष्क कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विकास पाण्डे र गृहका उपसचिव ध्रुव खड्का सदस्य रहनुभएको छ ।

समितिलाई काम सुरु गरेको मितिले सात दिनभित्र घटनाका सम्बन्धमा स्थलगत अध्ययनसहित छानबिन गरी प्रतिवेदन पेश गर्ने कार्यदेश दिएको उहाँको भनाइ छ ।