जनकपुरधाम, वैशाख १० गते । जनकपुरधामको ऐतिहासिक गङ्गासागर पोखरीको पूर्वी डिलमा भइरहेको स्व. रामनारायण मिश्र स्मृति भवन निर्माण तत्काल रोक्न उच्च अदालत जनकपुरधामले आदेश दिएको छ । उच्चका न्यायाधीश राजुराम सिलवालको आदेशमा स्व. रामनारायण मिश्र स्मृति भवन तत्काल अगाडि बढाउने कार्य नगर्नु, नगराउनु, निर्माण कार्य सुरु गरेको भए यथास्थितिमा राख्नु भनिएको छ ।
स्मृति भवन निर्माणका लागि भौतिक पूर्वाधार विकास कार्यालय जनकपुरधामले ठेक्का लगाएको र सो निर्माणको ठेक्का पाएको एम÷एस कर्मा बाबा जेभी जलेश्वर २, महोत्तरीले निर्माण अगाडि बढाइ रहेको अवस्थामा उच्चले यस्तो आदेश दिएको हो । यसअघि स्मृति भवन शिलान्यास नगरेकै अवस्थामा गुठी संस्थान जनकपुरधामले पनि तत्काल निर्माण अगाडि नबढाउन निर्देशन दिएको थियो । गुठी संस्थानकै पत्रको आधारमा निर्माण अगाडि बढाएपछि स्थानिय महेन्द्रप्रसाद साहले उच्च अदालतमा उत्प्रेषण मुद्दा दर्ता गराउनु भएको थियो ।
सहरी योजना तथा भवन निर्माण मापदण्ड २०७५ मा भवन निर्माण गर्दा सम्पदा क्षेत्रमा रहेको सार्वजनिक पोखरी जलासयको डिलबाट पााच मिटर जग्गा छाड्नुपर्ने उल्लेख छ । तर स्मृति भवन निर्माण गर्दा पाँच मिटर नछाडिएको उच्चको आदेशमा उल्लेख गरिएको छ ।