• १० वैशाख २०८२, बुधबार

अस्पतालको सेवा सुदृढीकरणका लागि ध्यानाकर्षण

blog

जमुनाह समाचारदाता

जमुनाह (बाँके), वैशाख १० गते । भेरी अस्पतालको सेवा सुदृढीकरणका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले ध्यानाकर्षण गराएको छ । एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र नेतृत्वको टोलीको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नीराजन सुवेदीलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

एमालेले भेरी अस्पतालको सेवा सुदृढीकरणको पहल गर्न मिश्रको नेतृत्वमा समिति बनाएको छ । उक्त समितिका सदस्य भास्कर काफ्ले, मोहित शाहसहित टेकबहादुर केसी सम्मिलित टोलीले ध्यानाकर्षणपत्र बुझाएको हो । लाखौँ लगानीको सिटी स्क्यान मेसिन जडान भई विगतमा सञ्चालन भए पनि हाल बन्द रहेको छ । जसले गर्दा यहाँ आउने बिरामीले अन्यत्र सिटी स्क्यान गर्नुपर्ने बाध्यता छ । त्यो बाध्यता तत्काल हटाउन सिटी स्क्यान मेसिनको नयाँ जडान वा मर्मतको काम तत्काल गर्न जोडदार माग गरिएको मिश्रले बताउनुभयो । 

उहाँका अनुसार पश्चिमको प्रमुख सरकारी अस्पतालमा जम्मा १० शयया मात्रै आइसियु सञ्चालन हुनु विडम्बना हो । कोभिड–१९ को महामारी थेग्ने सामथ्र्य राखेको अस्पतालले त्यतिबेलाका पूर्वाधार अहिले उपयोग गर्न सकिरहेको छैन । सोको लागि न्यूनतम १० शय्या आइसियु चिकित्सक र अन्य स्वास्थ्यकर्मीको व्यवस्थापनसहित तत्काल आइसियु विस्तार गर्न ध्यानाकर्षण गराइएको छ ।

कोभिड–१९ का समयमा अस्पतालको पूर्वाधारमा कायापलट गर्न गुरुयोजना तयार भएको थियो । त्यसलाई कार्यान्वयन गर्न आवश्यक देखिएको हुँदा त्यसको कार्यान्वयनका लागि अस्पतालका तर्फबाट आवश्यक पहल गर्न र आगामी आर्थिक वर्षको बजेटमा रकम विनियोजन गर्ने वातावरण तत्काल बनाउन माग गरिएको छ । भेरी जस्तो ठुलो अस्पतालमा बेग्लै प्रसूतिगृह छैन । जसका कारण धेरै गर्भवती महिलाले सहज तरिकाले उपचार पाउन नसकेको गुनासो गर्दै आएका छन् । त्यस्ता समस्या समाधानका लागि आवश्यक पहल गर्न अनुरोध गरिएको छ ।

भेरी अस्पताल विस्तार गर्दै विशिष्टीकृत सेवा, पूर्वाधारसँगै आवश्यक जनशक्तिका लागि स्थायी दरबन्दीको व्यवस्थापन र पदपूर्ति अपरिहार्य बनेको छ । मिश्रले सरकारको यसतर्फ ध्यानाकर्षण गराइएको बताउनुभयो । उहाँका अनुसार ध्यानाकर्षणपत्रलाई मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवेदीले सकारात्मक रूपमा लिनुभएको छ । अस्पतालले गर्न सक्ने काम भइरहेको उल्लेख गर्दै डा. सुवेदीले माथिल्लो तहबाट हुने कामका लागि सबै पक्षले पहल गरी भेरी अस्पतालको सेवा सुदृढ बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।