ध्यान कुलुङ
सङ्खुवासभा, वैशाख १० गते । जिल्लाको एक विद्यालयमा विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ परेका छन् । सदरमुकाम खाँदबारीस्थित सूर्य सेकेण्डरी बोर्डिङ स्कुलमा कार्यरत शिक्षक बिवेक खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
चैनपुर नगरपालिका ३ सिद्धकाली घर भएका खत्रीले आफ्नै विद्यालयमा अध्ययन गर्ने बालिकालाई गत आइतबार बिहान करिव १ बजे छात्राबासमा दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका खत्री विद्यालयकै होस्टलमा बस्दै आएका थिए ।
पक्राउ परेका खत्रीले बालिकालाई आफु सुत्ने कोठामा बोलाई बाल यौन दुरुपयोग गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि पक्राउ गरिएको प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो । खत्रीलाई सङ्खुवासभा जिल्ला अदालत चैनपुरबाट पाँच दिनको म्याद थप गरी बाल यौन दुरुपयोग कसुरमा थप अनुसन्धान भइरहेको निरीक्षक लामिछानेले जानकारी दिनुभयो ।