• १० वैशाख २०८२, बुधबार

वैज्ञानिक र दिगो रुपमा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका खाँचो : मन्त्री शाही

blog

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी ‘प्लास्टिक फोहोर व्यवस्थापन सम्मेलन २०२५’ को उद्घाटन कार्यक्रममा बोल्नुहुँदै ।

काठमाडौँ, वैशाख १० गते । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वैज्ञानिक र दिगो रुपमा प्लास्टिकजन्य फोहोर व्यवस्थापनको खाँचो औँल्याउँदै सबै सरोकारवालाबिच समन्वय आवश्यक रहेको बताउनुभएको छ ।

आइतबारदेखि होटल हिमालयमा सुरु भएको ‘प्लास्टिक फोहोर व्यवस्थापन सम्मेलन २०२५’ को उद्घाटन कार्यक्रममा बोल्नुहुँदै मन्त्री शाहीले सो कुरा बताउनुभएको हो ।

त्रिभुवन विश्वविद्यालयको अप्लाइड साइन्स एन्ड केमिकल इन्जिनियरिङ विभाग र प्लास्टिक फ्रि रिभर्स एन्ड सिज फर साउथ एसिया प्रोजेक्टको आयोजनामा सो सम्मेलन सुरु भएको हो ।

मन्त्री शाहीले भन्नुभयो, “प्लास्टिकजन्य फोहोरले हिमालदेखि समुद्रसम्म र मानव स्वास्थ्यदेखि सम्पूर्ण वातावरणमा गम्भीर असर पारिरहेको छ । यस समस्याको समाधानका लागि सरकार मात्र होइन, शिक्षण संस्था, अनुसन्धान केन्द्र, स्थानीय तह, उद्योग र आम नागरिकको सहकार्य अपरिहार्य छ ।”

मन्त्रीले सरकारका तर्फबाट सम्मेलनमा प्रस्तुत हुने सल्लाह, सुझाव तथा सिफारिसलाई वातावरणमैत्री नीति निर्माणमा समावेश गरिने प्रतिबद्धता जनाउनुभयो । साथै उहाँले प्लास्टिकको विकल्प पहिचान गर्ने, रिसाइकल प्रविधिमा लगानी बढाउने र वातावरण संरक्षणका कार्यहरूलाई प्राथमिकतामा राख्ने सरकारको योजनाबारे पनि जानकारी गराउनुभयो । 

सम्मेलनमा पूर्व मन्त्री दिपक ज्ञवाली, गणेश शाह ,भक्तबहादुर बलायर संविधान सभासदस्य भरतबहादुर खड्का सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा हेमराज पन्त, परशुराम नगरपालिका नगर प्रमुख भरत बडाएर जोशी शिक्षा तथा अनुसन्धान क्षेत्रका विज्ञ, स्थानीय तहका जनप्रतिनिधि, विश्व बैंक, यूएनओपिएस लगायतका अन्तर्राष्ट्रिय साझेदार संस्थाका प्रतिनिधि, प्राध्यापक, अनुसन्धानकर्ता, विद्यार्थी र सञ्चारकर्मीहरूको सहभागिता रहेको छ । सम्मेलन तीन दिनसम्म चल्नेछ ।