सल्यान समाचारदाता
सल्यान, वैशाख १० गते । सल्यानदेखि सुर्खेत ल्याइएको काउलीमा अत्यधिक मात्रामा विषादी पाइएको छ । अत्यधिक विषादी पाइएपछि ८७० किलो काउली नष्ट गरिएको छ । उपभोगका लागि अयोग्य रहेको भन्दै कृषि विभागको केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत रहेको विषादी अन्वेषण द्रुत विश्लेषण प्रयोगशाला एकाइ सुर्खेतले सोमबार काउली नष्ट गरेको हो ।
प्रयोगशालाका नायब प्राविधिक धनसिंह धामीले सल्यानबाट ल्याइएको काउलीमा ९९.३४ प्रतिशत अर्गानोफस्फेट समूहको विषादी पाइएको बताउनुभयो ।
उहाँका अनुसार सामान्यतया तरकारीमा कार्बामेट वा अर्गानोफस्फेट समूहको विषादी ३५ प्रतिशतभन्दा कम भए मात्र खानयोग्य मानिन्छ । विषादीको ३५/४५ प्रतिशतबिचको मात्रामा केही दिन क्वारेन्टाइनमा राखेर परीक्षण गर्न सकिन्छ तर ४५ प्रतिशतभन्दा बढी भएमा त्यसलाई विसर्जन गर्नुपर्ने प्राविधिक मापदण्ड छ ।
कपुरकोट गाउँपालिका–६, छायानाथ लिउरेखोला क्षेत्रका किसानबाट उत्पादन गरिएको काउली व्यापारी प्रबल शाहीमार्फत सुर्खेतका व्यापारी रतन महतरालाई पठाइएको थियो । उक्त काउली वीरेन्द्रगरस्थित तरकारी मन्डीमा बेच्न राखिएको थियो । परीक्षणमा अत्यधिक मात्रा विषादी देखिएपछि सोमबार नै नगरपालिकाका जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ । सोही दिन परीक्षण गरिएको फर्सी, लौका, केराउ, बन्दा, पालुङ्गो, धनियाँ, केरा र तितेकरेलालगायतका तरकारी तथा फलफूल भने उपभोग गर्नयोग्य भेटिएको प्रयोगशालाले जनाएको छ ।
यसैबिच कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले जिल्लामा विषादी परीक्षण प्रयोगशाला नहुनु ठुलो समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले किसानलाई विषादी प्रयोग नगर्न आग्रह गर्दै आएका छौँ तर प्रयोगशाला नहुँदा तरकारी खानयोग्य छ कि छैन भनेर सुनिश्चित गर्न सकिएको छैन । प्रदेश सरकारले स्थानीय तहमा प्रयोगशाला सञ्चालनमा ल्याइदिएको भए परीक्षण गरेर मात्रै तरकारी पठाउन सकिन्थ्यो ।”