• १० वैशाख २०८२, बुधबार

नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन बन्ने

blog

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरको उपस्थितिमा सम्झौतापत्र आदान–प्रदान गरिँदै ।

काठमाडौँ, वैशाख १० गते । नेपाल र भारतबिच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि मङ्गलबार हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरण र भारतको  पावर ग्रिड कम्पनी लिमिटेडबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा दुईदिने भ्रमणका लागि खट्टरसहितको प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउनुभएको छ । सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणका निर्देशक कमल आचार्य र पावर ग्रिड लिमिटेड भारतका निर्देशक डा. यतिन्द्र द्विवेदीले संयुक्त हस्ताक्षर गर्नुभयो । 

गत माघ ३० गते भारतको नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समितिको १२ औँ बैठकमा ४०० केभीको इनरुवा–न्यु पूर्णिया र दोदोधरा–बरेली प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनासम्बन्धी काम गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार दुई प्रसारण लाइन निर्माण गर्न नेपालतर्फ स्थापना हुने संयुक्त कम्पनीमा नेपालको ५१ प्रतिशत र भारततर्फ स्थापना हुने कम्पनीमा भारतको ५१ प्रतिशत सेयर स्वामित्व रहने व्यवस्था गरिएको छ । बाँकी ४९ प्रतिशत अर्को देशको रहने छ । 

इनरुवा–न्यु पूर्णियाको लम्बाइ नेपालतर्फ करिब २५ किलोमिटर र भारततर्फ १०० किलोमिटर छ भने दोदोधरा–बरेली प्रसारण लाइनको नेपालतर्फ करिब ३५ किलोमिटर र भारततर्फ १५० किलोमिटर रहेको छ । कार्यक्रममा ऊर्जामन्त्री खड्काले दुई देशको ऊर्जा विकासमा यो सम्झौता महत्वपूर्ण भएको बताउनुभयो । उहाँले यी दुई प्रसारण लाइन केवल संरचना नभई आपसी विश्वास र दिगो विकासतर्फको साझा यात्रा भएको टिप्पणी गर्नुभयो ।

मन्त्री खड्काले अरुण–३, लोअर अरुण, अरुण–४, फुकट कर्णाली, अपर कर्णाली, एसआर–६ र पश्चिम सेतीजस्ता ठुला जलविद्युत् परियोजनामा भारतको निरन्तर सहयोगप्रति आभार प्रकट गर्नुभयो । कार्यक्रममा भारतका विद्युत्मन्त्री खट्टरले दुई देशबिच ऊर्जा क्षेत्रमा भएको प्रगति भारत र नेपालको गहिरिँदो सम्बन्धको द्योतक भएको उल्लेख गर्नुभयो । उहाँले सन् २०२२ मा नेपाल–भारतबिच जारी गरिएको संयुक्त दृष्टिकोणपत्रको स्मरण गर्दै तीन प्रमुख आधार संयुक्त उत्पादन, सीमापार पूर्वाधार र विद्युत् व्यापारमा उल्लेखनीय प्रगति भएको बताउनुभयो ।

विद्युतमन्त्री खट्टरले गोरखपुर–बुटवल प्रसारण लाइन निर्माण सुरु भएसँगै नयाँ परियोजनाले द्विपक्षीय ऊर्जा सुरक्षालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । नेपाली विद्युत् भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश निर्यात हुनु ऐतिहासिक उपलब्धि भएको उहाँको भनाइ थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले नेपालमा जलविद्युत् क्षेत्रको प्रचुर सम्भावना भएको बताउनुभयो ।

यसअघि मङ्गलबार दिउँसो ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गर्नुभएको हाम्रा समाचारदाता सुजन बज्राचार्यले जानकारी दिनुभएको छ ।