• ५ कात्तिक २०८२, बुधबार

करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

blog

अनिल पराजुली

हेटौँडा, कात्तिक ५ गते । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । ३१ असोजमा हेटौँडा उपमहानगरपालिका–१० बसपार्कबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले हेटौँडा–१० बस्ने ३७ वर्षीय अर्जुन तामाङ भन्ने विजय तामाङलाई पक्राउ गरेको हो ।

२०७४ साउन ११ गते जिल्ला अदालत सिन्धुपाल्चोकबाट जबरजस्ती करणी मुद्दामा १० वर्ष कैदको फैसला भई फरार रहेका तामाङलाई पक्राउ गरेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

त्यस्तै प्रहरीले मकवानपुर बागमती गाउँपालिका–५ ज्यामिरे बस्ने २७ वर्षीय राजेश दर्नाल भन्ने हेमन्त परियार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट २०८१ साउन १६ गते र २०८१ पुस १९ गते दुई वटा मुद्दा तथा जिल्ला प्रहरी परिसर ललितपुरबाट २०८१ मङ्सिर ३० गते र प्रहरी वृत्त महाराजगन्ज काठमाडौंबाट २०८१ पुस १४ गते चोरी तथा डाँका कसुर मुद्दामा ५ पटक मुद्दा चलेको अनुसन्धानबाट खुल्न आएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो ।

जुवातास खेलिरहेको अवस्थामा उनीहरूको साथबाट प्रहरीले ११ बुक तास, नगद ६ लाख ६ हजार ३१० सहित ११ जनालाई पक्राउ गरी जुवा सम्बन्धी कसुर मुद्दामा अनुसन्धान गर्ने क्रममा सिआरएस चेकजाँच गर्दा तामाङ र परियार अपराध गरेर फरार रहेको पाइएको प्रहरीले जनाएको छ ।