• ९ वैशाख २०८२, मङ्गलबार

पाठ्यपुस्तक बिक्री धमाधम

blog

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीको गोदाम । तस्बिर : नीराजन परियार

चौमाला समाचारदाता

चौमाला (कैलाली), वैशाख ९ गते । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्षको शैक्षिक सत्र सुरु हुनुअगावै १७ करोड ६६ लाख तीन हजार ६१७ रुपियाँका पाठ्यपुस्तक बिक्री गरेको छ ।

यस वर्ष शैक्षिक सत्र सुरु हुनुअगावै नै पाठ्यपस्तुक आएकाले बिक्रीवितरण सुरु गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले जानकारी दिएको छ । 

केन्द्रले नयाँ शैक्षिक सत्र २०८२ का लागि सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा स्थानीय पुस्तक बिक्रेतामार्फत सो मूल्यका पाठ्यपुस्तक बिक्री गरेको हो । गत चैत १७ गतेबाट पाठ्यपुस्तक बिक्री सुरु गरिएको र आजको मितिसम्म एक करोड २८ लाख नौ हजार ४६४ थान पाठ्यपुस्तक बिक्री भएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामविनय श्रेष्ठले जानकारी दिनुभयो ।  

उहाँले नयाँ शैक्षिक सत्रमा समयमै विद्यार्थीको हातमा पुस्तक पुग्ने दाबी गर्दै चालु शैक्षिक सत्रमा प्रदेशमा २०८२ सालमा ३० करोड रुपियाँ बराबरको १८ लाख १७ हजार थान पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार बाजुरामा एक लाख १० हजार ८६ थान, दार्चुलामा ९७ हजार ९९७ थान, बैतडीमा एक लाख ४३ हजार  १२५ थान, बझाङमा एक लाख २४ हजार ९५३ थान र अछाममा एक लाख २३ हजार ११६ थान पाठ्यपुस्तक बिक्रीवितरण भएको छ ।

त्यसै गरी डोटीमा एक लाख १६ हजार ६३८, डडेलधुरामा ६६ हजार ६१४, कञ्चनपुरमा एक लाख ६४ हजार १२७, र कैलालीमा तीन लाख ४२ हजार ८०८ थान पाठ्यपुस्तक बिक्रीवितरण भएको छ । प्रदेशका सात पहाडी जिल्लामा लगभग पाठ्यपुस्तक पुगिसकेको र केही छुटपिट ठाउँमा अझै पाठ्यपुस्तक गइरहेको जनक शिक्षाको प्रादेशिक कार्यालयले जानकारी दिएको छ । 

जनक शिक्षाले गत शैक्षिक सत्र २०८१ मा २२ करोड ५७ लाख रुपियाँ बराबरका पाठ्यपुस्तक बिक्री गरेको जनाएको छ । प्रादेशिक कार्यालय धनगढीका प्रमुख श्रेष्ठले यहाँ खपत हुने सङ्ख्यामध्ये करिब ९० प्रतिशत ढुवानी भइसकेकाले पाठ्यपुस्तक अभावको समस्या नहुने दाबी गर्नुभयो । जनक शिक्षाले पाठ्यपुस्तक बिक्रीका लागि प्रदेशभरि १६५ पुस्तक व्यवसायीलाई अनुमति दिएको छ । व्यवसायीले आआफ्नो क्षेत्रका विद्यालयलाई पाठ्यपुस्तक उपलब्ध गराउने छन् । प्राथमिक तहमा अनिवार्य शिक्षा तथा माध्यमिक तहमा निःशुल्क शिक्षा दिने सङ्घीय सरकारको नीति रहेको छ ।