• ६ वैशाख २०८२, शनिबार

सबै जिल्लामा पुग्यो पाठ्यपुस्तक, विद्यालयमा धमाधम वितरण

blog

काठमाडौँ, वैशाख ५ गते । नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशका ७७ जिल्लामा पाठ्यपुस्तक वितरणको क्रम जारी छ । 

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रशासन प्रमुख पार्वती न्यौपानेका अनुसार नयाँ शैक्षिक सत्रका लागि एक करोड ७० लाख पुस्तक छपाइ तथा वितरणको कार्य जारी छ । उहाँले जनक शिक्षाबाट पुस्तक व्यवसायीले सबै जिल्लामा पुस्तक लगिसकेको जानकारी दिनुभयो । 

उहाँका अनुसार जनक शिक्षाले कक्षा तीन, पाँच र छ देखि कक्षा १२ सम्मको पाठ्यपुस्तक छपाइ तथा वितरण गर्ने जिम्मेवारी पाएको छ । कक्षा एक, दुई र चारको पाठ्यपुस्तक छपाइ तथा वितरणको जिम्मेवारी भने निजी प्रकाशकलाई दिइएको छ । 

उहाँले भन्नुभयो, “विषयगत पुस्तक धेरै छन् । जम्मा एक करोड ७० लाखको टार्गेट अनुसार पुस्तक छपाइ गरेर वितरण हुँदै गरेको अवस्था छ । देशभर झण्डै १४ सय पुस्तक व्यवसायी छन् । उहाँहरूले किताब उठाएर लानुहुन्छ अनि विद्यालयमा बुझाउनुहुन्छ । विद्यालयबाट उहाँहरूले भुक्तानी लिनुहुन्छ ।”

उहाँले गोदाममा पुस्तक प्रशस्त रहेको र सर्वसुलभ ढङ्गले देशैभर वितरण भइरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “यहाँबाट ७७ वटै जिल्लाका सबै पुस्तक व्यवसायीले जनक शिक्षाबाट किताब उठाइसकेका छन् । देशैभरको विद्यालयमा अहिलेसम्म पुगिसक्यो होला । कतिपय विद्यालयले नतिजा प्रकाशन नगरेको कारणले वितरण नगरेको भए त्यो उनीहरूको आफ्नै कारणले भयो ।”

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घका अध्यक्ष शिव सागर शर्माले देशभरका शिक्षकहरू सडक आन्दोलनमा रहेका र कतिपय स्थानीय निकायमा पाठ्यपुस्तकका लागि बजेट निकासा हुन नसकेको बताउनुभयो । 

अध्यक्ष शर्माले भन्नुभयो, “पाठ्यपुस्तकहरू जिल्लामा गइसकेको छ । तर, समस्या के भएको छ भने देशभरीका शिक्षकहरू आन्दोलनमा हुनुहुन्छ । र कतिपय स्थानीय निकायमा  पाठ्यपुस्तकका लागि बजेट निकासा नहुँदा केही ठाउँमा अप्ठ्यारो भएको छ ।”

जो आर्थिक रूपमा सबल छन् त्यस्ता पुस्तक व्यवसायीले स्वतःस्फूर्त पुस्तक उठाइरहका छन् तर सामान्य आर्थिक अवस्था भएको व्यवसायीका लागि भने समस्या भएको उहाँको भनाइ छ । 

उहाँले पाठ्यपुस्तक वितरण सम्बन्धमा मानव संशाधन विकास केन्द्रले नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ, मुद्रण व्यवसायी, अभिभावक सङ्घ, जनक शिक्षा सामाग्री केन्द्र, पाठ्यक्रम विकास केन्द्र लगायत सबै सरोकारवालाको एक–एक जना प्रतिनिधि रहने गरी सात प्रदेशमा अनुगमन समिति गठन भएको जानकारी दिनुभयो ।

व्यवसायीलाई नौ प्रतिशत

यो वर्ष पुस्तकको मूल्य कतिको सर्वसुलभ छ भन्ने जिज्ञासामा उहाँले व्यवसायीलाई नौ प्रतिशत मात्रै छुट रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनक शिक्षाले यो मूल्यमा हामी काम गर्न सक्दैनौं भनेको छ । दस, ११ वर्षदेखि एउटै मूल्यमा पाठ्यपुस्तक बनेका छन्, बिक्रीवितरण भइरहेका छन् । त्यो बेला पेपरको मूल्य प्रतिकिलो ७०, ७२ रुपियाँ थियो । अहिले पेपरको मूल्य दुई सय २० सम्म भयो । हामी त्यही मूल्यमा पुस्तक उत्पादन र बिक्रीवितरण गर्न बाध्य छौं ।”

उहाँले घाटा भएको रकम सरकारबाट प्राप्त हुने भएकोले जनक शिक्षा सामाग्री केन्द्रलाई समस्या नभए पनि निजी मुद्रकलाई भने समस्या पर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “जनक शिक्षाले सरकारमार्फत पैसा पाउने भएको हुनाले घाटा हुँदा पनि समस्या भएन । निजी मुद्रकलाई यसले समस्या हुन्छ नि त ।”

उहाँले बिक्रेताले पाउने नौ प्रतिशत छुट ज्यादै कमी भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “नौ प्रतिशतमा आफ्नो भाडा, भन्सार खर्च हुन्छ । उनीहरूले जति पाउने सुविधा छ, त्यसबाट एक प्रतिशत पनि बचाउन सकिने अवस्था छैन । त्यसकारण, कम्तिमा यसलाई दीगो बनाउन पुस्तकको मूल्य समायोजन गरिदिने, व्यवसायीलाई पनि टिकाइराख्न हामीलाई सरकारले हेरेको छ भन्ने खालको अनुभूति हुने वातावण मिलाउनुपर्छ ।”

पुस्तक व्यवसायीले विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउने आफ्नो कर्तव्य ठानेर काम गरिरहेको उहाँको भनाइ छ ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।