• ३ असार २०८१, सोमबार

सुदुरपश्चिमको पर्यटन प्रवद्धर्नका लागि म्याराथन

blog

फाइल तस्बिर

दिपायल, जेठ २३ गते । खप्तड तथा सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनका लागि हाल्फम्याराथन प्रतियोगिता हुने भएको छ । सुन्दर सुदूरपश्चिम खप्तड – शैलेश्वरी नाम दिएर गंगा दशहरा पर्वको अवसरमा जेठ २८ गते प्रतियोगिता हुने भएको छ ।

पर्वको अवसरमा उद्योग वाणिज्य संघ, नेपाली सेनाको भैरब प्रसाद गण सिलगढी र नम्बर पाँच बाहिनी अड्डा राजपुर डोटीले प्रतियोगिताको आयोजना गर्न लागेका हुन् । म्याराथनसँगै खप्तडमा भलिबल तथा डेउडा प्रतियोगिता र योग शिविरसमेत आयोजना गरिने जानकारी दिएको छ ।

भुस्वर्गका नामले चर्चित खप्तड राष्ट्रिय निकुञ्ज देखि डोटीको दिपायल सिलगढी नगरपालिका – ६ सिलगढीमा अवस्थित शैलेश्वरी मन्दिर सम्म ३२ किलोमीटरको म्याराथन प्रतियोगिता हुने आयोजकले जनाएको छ । खप्तड, बीचपानी, झिंग्राना, बगलेक, सिलगढी हुँदै शैलेश्वरी मन्दीर परिसरसम्म म्याराथन रुट कायम गरिएको छ ।

खप्तडमा जेठ २५ र २६ गते भलिबल प्रतियोगिता, २७ गते डेउडा प्रतियोता सहित अन्य कार्यक्रमहरु हुने उद्योग वाणिज्य संघका उपाध्यक्ष खेमराज भण्डारीले जानकारी दिनुभयो । 

२२५ बर्ग कि.मी. क्षेत्रफलमा फैलिएको खप्तड समुद्र सतहबाट तीन हजार ५ सय मिटर सम्मको उचाईमा रहेको छ । खप्तड राष्ट्रिय निकुञ्ज भित्र ५६७ थरिका वनस्पतीहरु र नेपालमा पाइने ८५० किसिमका चराचुरुंगी मध्ये २६० भन्दापनि बढी चराचुरुंगीहरु पाइन्छन् । 

बाह्रै महिना पानीको सतह एकै नासको हुने विशेषता रहेको १५० मिटर लम्बाई ५० मिटर चौडाई रहेको खप्तड दहसँगै ५२ वटा दह रहेका छन् । 

Author

केशवचन्द्र महरा