गोरखापत्र समाचारदाता 
काठमाडौँ, जेठ २२ गते। सर्वोच्च शिखर सगरमाथामा थुप्रिएको फोहर सङ्कलन गर्ने क्रममा दुईवटा मानव कङ्काल भेटिएका छन्। नेपाली सेनाको नेतृत्वमा सञ्चालन गरिएको सफा हिमाल अभियान-२०२२ को क्रममा मानव कंकाल फेला परेको नेपाली सेनाले जनाएको छ।
हिमाल सफा अभियानका क्रममा फेला परेका मानव कंकाल स्थानीय निकायको रोहवरमा प्रहरीलाई बुझाइएको नेपाली सेनाले सेनाले जनाएको छ। सगरमाथा आरोहणका क्रममा हालसम्म ३१५ जना आरोही तथा तीनका सहयोगी बेपत्ता भएको अनुमान गरिएको छ। 
गत चैत २२ गतेदेखि नेपाली सेनाको नेतृत्वमा विश्वको सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, कञ्चनजङ्गा र मकालु हिमाल सफाइ गरिएको थियो। जसअन्तर्गत चारवटा हिमालबाट ३३ टन फोहर सङ्कलन गरिएको नेपाली सेनाले जनाएको छ।
सेनाका ३० तथा हिमाल आरोही शेर्पाका ५८ गरेर ८८ जनाको प्रत्यक्ष सहभागितामा सञ्चालन भएको सफाइ अभियानमा मनास्लु हिमालबाट पाँच हजार ७१४, कञ्चनजङ्गा हिमालबाट १५ हजार ३७३, सगरमाथा र ल्होत्से हिमालबाट १२ हजार ७९० केजी गरी जम्मा ३३ हजार आठ सय ७७ केजी फोहर सङ्कलन भएको हो। दुई महिनासम्म सञ्चालन भएको सफा अभियान विश्व वातावरण दिवसको अवसमा सम्पन्न भएको हो।

नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आइतबार आयोजित विशेष समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले बढ्दै गएको पर्यावरणीय जटिलता तथा प्रकृति र पर्यावरणलाई संरक्षण गर्नु मानव जातिको कर्तव्य भएको बताउनुभयो। उहाँले पृथ्वी केवल एउटामात्र रहेकाले यसको विकल्प नभएकाे बताउँदै पर्यावरण संरक्षणमा विश्वका सम्पूर्ण राष्ट्र एकजुट हुनुपर्ने बताउनुभयो।
नेपाल सरकारबाट हिमाल संरक्षणका लागि विभिन्न समयमा विभिन्न प्रयास भएको बताउँदै प्रधानसेनापति शर्माले हिमाल सफा अभियान त्यसको एउटा अङ्ग मात्र रहेको धारणा व्यक्त गर्नुभयो। 
सेनापति शर्माले भन्नुभयाे, ‘‘हिमाल सफा अभियानका नतिजा तत्काल नदेखिए पनि यसको सकारात्मक प्रभाव भविष्यमा अवश्य देखिने छ।’’ एक्लो प्रयासबाट पर्यावरण संरक्षण सम्भव नहुने बताउँदै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा भइरहेका प्रयास अत्यन्तै सकारात्मक रहेको धारणा व्यक्त गर्नुभयो।
भावी सन्ततिका लागि पर्यावरणको संरक्षण गर्नु सबैको कर्तव्य रहेको धारणा व्यक्त गर्दै सेनापति शर्माले नेपाल सरकारले पर्यावरण संरक्षणमा गरिरहेको प्रयासमा सेना हातेमालो गर्दै आइरहेको बताउनुभयो। हिमाल सफा अभियानमा प्रत्यक्ष सहभागी तथा विभिन्न क्षेत्रबाट योगदान गर्ने व्यक्ति तथा संस्थाका प्रतिनिधिलाई सेनापति शर्माले सम्मान गर्नुभयो।
भावी पुस्ताका लागि हिमाल संरक्षण गर्न ‘हाम्रो हिमाल हाम्रो दायित्व’ भन्ने नारासहित नेपाली सेनाले सन् २०१९ देखि सुरु भएको सफा हिमाल अभियानको नेतृत्व गर्दै आएको छ।
सफाइ अभियानको पहिलो वर्ष सन् २०१९ मा सेनाले विभिन्न हिमालबाट झन्डै ११ टन फोहोर सङ्कलन गरेको थियो। कोरोना सङ्क्रमणका कारण सन् २०२० को सफाइ अभियान रोकियो। 
सन् २०२१ मा सगरमाथा, ल्होत्से, मकालु, धौलागिरी, अमादब्लम गरेर पाँच हिमालबाट २७.६ टन फोहोर सङ्कलन गरिएको थियो। सफा हिमाल अभियानमा सहभागी टोलीलाई सेनाले पूर्व तयारी योजना हिमाल आरोहण कलाबारे विशेष प्रशिक्षण प्रदान गरेको थियो। 
सङ्कलन गरिएको फोहरलाई कुहिने र नकुहिने गरेर दुई समूहमा वर्गीकरण गरिएको र कुहिने फोहोरलाई स्थानीय निकायको जिम्मा लगाइएको र नकुहिने फोहरलाई पुनः प्रयोग गरिने सेनाले जनाएको छ।

 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                