• २९ फागुन २०८२, शुक्रबार

महेन्द्र मावि जिल्लाकै दोस्रो उत्कृष्ट सामुदायिक विद्यालय

blog

सुनसरीको चक्रघट्टीस्थित महेन्द्र माविमा विद्यार्थीहरू प्रार्थना गर्दै । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की

वराहक्षेत्र, फागुन २९ गते । सुनसरीको चक्रघट्टीमा रहेको महेन्द्र माध्यमिक विद्यालयले जिल्लामै उत्कृष्ट दोस्रो सामुदायिक विद्यालयको स्थान प्राप्त गरेको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र, सानोठिमीले गरेको मूल्याङ्कनबाट विद्यालयले उत्कृष्ट दोस्रो स्थान हासिल गरेको हो ।

नेपाल सरकारको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले ८९ वटा सूचकका आधारमा गरेको सर्वेक्षणअनुसार महेन्द्र माध्यमिक विद्यालयले जिल्लामा उत्कृष्ट दोस्रो सामुदायिक विद्यालयको स्थान प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक चण्डिराज पोखरेलले बताउनुभयो । 

उहाँका अनुसार विद्यालयमा गरिएको अवलोकनका आधारमा शैक्षिक सत्र २०८१ मा ७८.९६ अङ्क प्राप्त गर्दै विद्यालय दोस्रो भएको हो ।

वराहक्षेत्र–६, चक्रघट्टीमा रहेको महेन्द्र माध्यमिक विद्यालय सुनसरीको उत्तरी क्षेत्रकै पुरानो विद्यालय मानिन्छ । बाल कक्षादेखि १२ कक्षासम्म अध्यापन हुने विद्यालयमा सात सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । २०१३ सालमा स्थापना भएको विद्यालयमा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पढाइ हुँदै आएको छ ।

नेपाली र अङ्ग्रेजी दुवै माध्यम सञ्चालन गरेका सामुदायिक विद्यालयहरूमा पछिल्लो समय विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको स्थानीय शिक्षक राजकुमार खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ ।”

सामुदायिक विद्यालयमा हुने मूल्याङ्कनले विद्यालयको विकास र गुणस्तरमा थप सहयोग पुग्ने महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिले जनाएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले देशभरकै सामुदायिक विद्यालयको अवलोकन गरेर विद्यालयको विवरण सार्वजनिक गरेको हो ।