हरिकृष्ण ऐडी
मुगु, चैत २५ गते । कर्णाली प्रदेशकै ठुलो रारा तालमा आउने विदेशी पर्यटकको सुरक्षाका लागि जिल्लाको ताल्चा विमानस्थल नजिकै अस्थायी पर्यटक प्रहरी पोस्ट स्थापना गरिएको छ ।
छायाँनाथ रारा नगरपालिकाको पहलमा कर्णाली प्रदेशकै पहिलो पर्यटक प्रहरी पोस्ट स्थापना भएको हो । छायाँनाथ रारा नगरपालिका ४ ताच्चा विमानस्थल नजिक रारा जाने बाटोमा नगरपालिकाको सहजीकरणमा स्थापना भएको अस्थायी पर्यटकीय प्रहरी पोस्ट राराको जिल्ला प्रहरी कार्यालय मुगुको आयोजनामा सोमबार एक कार्यक्रमकोबिच छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भाम र उपनगर प्रमुख ऐश्यर्या शाही, मल्लले संयुक्त उद्घाटन गर्नुभयो ।
उक्त कार्यक्रममा नगर प्रमुख भामले रारा तालमा एक पटक आएको पर्यटक पटकपटक आउन सक्ने वातावरणको सिर्जना हुनु आवश्यक रहेको आैल्याउँदै पर्यटकको सुुरक्षाका लागि पर्यटक प्रहरी स्थापनाकालागी नगरपालिकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग ठुलो भूमिका खेली आज कर्णाली प्रदेशमा राराले पहिलो पर्यटन प्रहरी पाएको उहाँले बताउनुभयो ।
पर्यटक प्रहरीले अब रारा ताल मान्त्र नभई प्रसिद्ध छायाँनाथ धाम र जिल्लाको माथिल्लो मुगुका पर्यटकीय स्थानमा केही पर्यटक आउने भएकाले उक्त स्थानसम्म आउने पर्यटकलाई समेत उद्धार गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक सरोज गिरीले बताउनुभयो ।
जिल्लामा पर्यटन प्रहरीको दरबन्दी अहिले जम्मा पाँच जना मात्र दरबन्दी भएकोले उक्त जनशक्तिको अभावले गर्दा पर्यटक प्रहरीलाई सारै चुनौती भएको उहाँले बताउनुभयो ।
रारा भ्रमणमा आएका पर्यटकलाई सहजीकरण मात्र नभई उनीहरूलाई सुरक्षा पनि प्रदान गर्ने कार्य गर्दछ । पर्यटकीय स्थलहरूमा गस्ती र पेट्रोलिङ गर्ने, पर्यटकका लागि आवश्यक सूचना दिने, सूचना आदान–प्रदान गर्ने, पर्यटकहरूबाट आएको उजुरी, निवेदनउपर छानबिन र कारबाही गर्ने गराउने, पर्यटकीय क्षेत्रमा कुनै पनि अभद्र व्यवहार, अश्लील तथा अवाञ्छित काम गर्ने व्यत्तिलाई नियन्त्रणमा लिई कारबाहीका लागि पठाउने लगायतका काम पर्यटक प्रहरीले गर्ने प्रहरी प्रमुख सरोज गरीले बताउनुभयो ।