ज्ञानु पंगेनी
मध्यविन्दु, पुस ३ गते । नवलपुरको कावासोती चार हसौराका मित्रबहादुर गाहा मगरले तरकारी खेती गर्दैआएको सात वर्ष भयो । लामो समयदेखि कृषि पेशामा लाग्नुभएका उहाँ जस्तोसुकै परिस्थितिमा पनि कहिल्यै विचलित हुनुभएन ।
पेशाप्रतिको लगाव, मेहेनत र निरन्तरताले नै उहाँ अहिले एक सफल किसान बन्नुभएको छ । उहाँले हसौरामा ३१ कठ्ठा क्षेत्रफल लिजमा लिएर सिजन अनुसारको तरकारी खेती गर्दै आउनुभएको छ । उहाँलाई उहाँकी श्रीमती र परिवारका अन्य सदस्यले साथ सहयोग दिहुनुन्छ ।
उहाँले कृषि पेशा सुरु गर्नुअघि मलेसियामा लामो समय पसिना बगाउनुभएको थियो । विदेशमा पाँच वर्ष काम गरेर कमाएको भन्दा पनि आफ्नै देशमा पसिना बगाउन सके धेरै राम्रो हुने उहाँले अनुभव सुनाउनुभयो । तरकारी खेतीबाट वार्षिक रुपमा सबै लागत कटाएर सात लाख रुपिँया बराबरको आम्दानी हुनेगरेको उहाँ बताउनुहुन्छ ।
‘कुनै बेला बजारभाउ राम्रो मिल्दैन त्यस्तो बेलामा नाफा कम हुन्छ, बजार भाउ राम्रो पाउँदा त राम्रै आम्दानी हुन्छ, सरदर वर्षको सात लाख हाराहारी त हुन्छ । कहिले धेरै पनि हुन्छ’ मगरले भन्नुभयो ।
अहिले उहाँको बारीमा स्थानीय भक्तपुरे जातको काँक्रो खेती निकै राम्रो भएको छ । उहाँले सिजनअनुसार बोडी, करेला, टमाटर, खुर्सानी, घिउसिमीलगायतका तरकारी खेती गर्नुहुन्छ । उहाँले बढी मात्रामा लगाउने खेती भनेकै काँक्रो हो ।
तरकारी खेती सुरु गरेपछि आयआर्जन हुन लाग्यो । त्यसै आम्दानीले उहाँलाई साहस दियो । उहाँ भन्नुहुन्छ, ‘तरकारी खेतीबाट नै राम्रो आम्दानी गर्न थालेपछि विदेश किन जानु भन्ने सोँच आयो । त्यसैले आफ्नै देशमा पसिना बगाउने निर्णय गरे । राम्रो पनि भयो ।’ विदेशमा पाएको दुःख सम्झदै उहाँले भन्नुभयो, ‘आफ्नै परिवारसँग बसेर कृषि कर्म गर्दा निकै खुसी छु । मेहेनत गरे नेपालमै सुन फलाउन सकिन्छ, विदेश जानु पर्दैन ।’
राष्ट्रिय कृषि आधुनिकीकारण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ नवलपुरमार्फत यहाँ ‘तरकारी सुपरजोन’ लागू भएपछि धेरै सहज भएको उहाँको अनुभव छ । उहाँ मात्र होइन, अहिले यस क्षेत्रका अन्य किसानहरू समेत यस परियोजनाबाट लाभान्वित भएका छन् । परियोजना अन्तर्गत विभिन्न सामग्री अनुदानमा सहयोग पाउँदा नयाँ किसान समेत तरकारी खेतीमा आकर्षित बनेको उहाँको भनाइ छ ।
‘तरकारी सुपरजोन’ कार्यक्रम अन्तर्गत नवलपुरको कावासोतीको वडा ४ र हुप्सेकोट गाउँपालिकामा विशेषगरी स्थानीय भक्तपुरे जातको काँक्रो खेती हुँदैआएको छ । जिल्लाको पाँचवटा पालिकामा ‘तरकारी सुपरजोन’ कार्यक्रम लागू भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ नवलपुरका सूचना अधिकारी रणबहादुर महतोले जानकारी दिनुभयो ।
हुप्सेकोट गाउँपालिकाको –१, २, ३ र ४, मध्यविन्दु नगरपालिका वडा १, २, ३, ६ र ९, कावासोती नगरपालिका वडा ४, ९, १०, १२, १५, १६ र १७ , बौदीकाली गाउँपालिका वडा ५ र ६ र बुलिङ्गटार गाउँपालिका वडा ५ वडामा कार्यक्रम लागू भएको सूचना अधिकारी महतोले बताउनुभयो । अहिले ८ सय हेक्टर क्षेत्रफलमा तरकारी सुपरजोन कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।
सुपरजोनमा आबद्ध भएका कृषक तथा कृषि समूहलाई कार्यालयले सिँचाइको प्रबन्ध गर्ने, जैविक मल निर्माण र प्रयोगलाई प्रोत्साहन गर्ने, यान्त्रीकरणलाई जोड दिँदै निःशुल्क रूपमा प्राविधिक सेवा प्रदान गर्ने र कृषि उत्पादनको प्रवर्धन तथा बजारीकरणमा सहयोग गर्ने काम गर्दैआएको राष्ट्रिय कृषि आधुनिकीकारण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ नवलपुरका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत डा. देवराज अधिकारीले बताउनुभयो ।