गोरखापत्र अनलाइन
काठमाडौँ, पुस ३ गते । राजनीतिमा वैचारिक स्पष्टता, प्रखर वक्तृत्व क्षमता र साङ्गठनिक दक्षता भएका नेतामध्ये एक हुनुहुन्छ शङ्कर पोखरेल । मुलुकमा आर्थिक–सामाजिक रूपान्तरणको मौलिक चिन्तन र सिर्जनात्मक अवधारणा बोक्ने नेताका रूपमा परिचित पोखरेल एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादको कुशल व्याख्याता समेत हुनु हुन्छ ।
सादा जीवनशैलीको परिचय बनाउनु भएका शङ्कर पोखरेललाई समकालीन नेपाली राजनीतिमा मुलुकलाई नेतृत्व दिनसक्ने दूरदृष्टि र दृढ सङ्कल्प भएको दोस्रो पुस्ताको सम्भावना भएको नेता मानिन्छ । शङ्कर पोखरेलको जन्म वि.सं. २०१९ फागुन १५ गते हालको लुम्बिनी प्रदेश दाङ जिल्लास्थित तुलसीपुर उपमहानगरपालिका–१९, हाडिमेमा बुवा केशवराज शर्मा र आमा तिलकादेवीको कान्छो सन्तानका रूपमा भएको थियो ।
आफ्नै गाउँमा प्रारम्भिक शिक्षा हाँसिल गरेका उहाँले दाङको तुल्सीपुरस्थित महेन्द्र मावि टारीगाउँमा एसएलसी परीक्षाको तयारी गर्दागर्दै मण्डले गुण्डागर्दी र प्रशासनिक दमनका कारण विद्यालय छोड्नु परेको थियो । पछि भारतको बनारसबाट प्राइभेट परीक्षार्थीको रूपमा बोर्ड परीक्षा उत्तीर्ण गर्नु भयो । तत्पश्चात उहाँले बिकमसम्मको अध्ययन बनारसबाटै पूरा गर्नु भयो ।
बाल्यकालदेखि नै राजनीतिक चेतना राख्ने पोखरेल २०३५ सालबाट विद्यार्थी राजनीतिमा संलग्न हुनु भएको थियो । २०३६ सालको विद्यार्थी आन्दोलनमा समेत संलग्न हुनु भयो। २०३७ सालमा आन्दोलनको क्रममा पहिलो पटक जेल पर्नु भयो । विद्यार्थी राजनीतिकै क्रममा पटक पटक पक्राउ परेका उहाँले भारतमा अध्ययनरत छँदा अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियन गठन गरी प्रवासी विद्यार्थीको हकहितको पक्षमा सङ्घर्ष थाल्नु भयो । त्यही क्रममा जननेता मदन भण्डारीको सम्पर्कमा पुग्नु भयो ।
मदन भण्डारीसँगको सम्पर्क र सम्बन्धले उहाँको राजनीतिक जीवनमा नयाँ मोड आयो । नेता भण्डारीकै मार्गदर्शन र प्रेरणामा पोखरेल २०४२ सालमा नेपाल फर्किएर विद्यार्थी राजनीतिमा सङ्गठित र क्रियाशील हुनु भयो । अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनको प्रथम अध्यक्षलगायतको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरेका पोखरेलले नेपाल आएपछि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को वागमती अञ्चल कमिटीमा रहेर काम गर्नु भयो ।
२०४५ सालमा देशको सबैभन्दा ठुलो र प्रतिष्ठित विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित हुनु भयो । त्रिविको स्ववियु सभापतिको रूपमा उहाँले विद्यार्थीको हक अधिकार, शैक्षिक सुधार र प्राज्ञिक स्वतन्त्रताका साथै राजनीतिक मुद्दामा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्नु भयो । विद्यार्थी नेताको रूपमा पोखरेलले चलाएको अभियान निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्रको स्थापनाका निम्ति बलियो आधार बनेको थियो । त्यस क्रममा विद्यार्थी समुदायका साथै विश्वविद्यालय तहमा स्थापित भएको लोकप्रियताले उहाँको सार्वजनिक छवि, विश्वासनीयता र राजनीतिक उचाइत थपिँदै गयो ।
२०४६ सालमा पञ्चायती व्यवस्था अन्त्यका लागि भएको जनआन्दोलनमा विद्यार्थी फाँटबाट नेतृत्वदायी भूमिका खेलेका पोखरेल अनेरास्ववियुको उपाध्यक्ष हुँदै २०४७ सालमा माले–माक्सवादी एकतासँगै भएको नेप्रवियु सँगको एकतापश्चात अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बन्नु भयो । अध्यक्ष छँदा भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुले उल्लेख्य सफलता हासिल गरेको थियो ।
नेता पोखरेल २०५१ सालमा प्रतिनिधि सभा सदस्यको जिम्मेवारीसँगै पार्टी राजनीतिमा क्रियाशील बन्नु भयो । २०५४ सालमा तत्कालीन विद्यार्थी नेतृ सुजिता शाक्यसँग जनवादी विवाह गरेका पोखरेल दम्पत्तीका दुई छोरी छन् । २०५१ सालमा भएको आमनिर्वाचनबाट नेकपा (एमाले) देशकै ठुलो राजनीतिक दलको रूपमा स्थापित भयो ।
एमालेको २०५४ सालमा नेपालगन्ज मा सम्पन्न छैठौं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका पोखरेल २०५९ सालमा जनकपुरमा सम्पन्न सातौं महाधिवेशनबाट पुनः केन्द्रीय सदस्य बन्नु भयो । २०६५ सालमा बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट सचिवमा निर्वाचित पोखरेल २०७१ मा सम्पन्न नवौं महाधिवेशनपछि पार्टी स्थायी कमिटी सदस्यको भूमिका पाउनु भयो ।
३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पोखरेलले संसदमा जनसरोकारका विषयलाई जोडदार ढङ्गले उठाउनु भयो । मुलुकमा सशस्त्र द्वन्द्व उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र राजनीतिक निकासको पक्षमा जनमत सिर्जना गर्न उहाँले माओवादी हिंसाबाट अति प्रभावित राप्ती अञ्चलका पहाडी जिल्लाहरू रुकुम, रोल्पामा शान्ति पदयात्राको नेतृत्व गर्नुभयो ।
२०५९ माघमा जनकपुरमा भएको एमालेको सातौं महाधिवेशनमा उहाँले संविधानसभाबाट नै राजनीतिक निकास खोज्नु पर्छ भन्दै प्रस्ताव पेस गर्नु भयो । संविधान सभामार्फत् राजनीतिक निकास खोज्नु पर्छ र गणतन्त्रतर्फ अग्रसर हुनु पर्छ भन्ने पोखरेलको दस्तावेजलाई त्यतिबेला पार्टीले स्वीकार गरेन । यद्यपि उहाँले प्रयास छोड्नु भएन । २०६० सालमा ’संविधानसभा, राज्यको पुनर्संरचना र समावेशी लोकतन्त्र’ नामक पुस्तक लेखेर मुलुक सङ्घीयतामा जानुपर्ने प्रष्ट दृष्टिकोण अघि सारे र पार्टीलाई राज्य पुनर्संरचनाको पक्षमा उभ्याउन भूमिका खेल्नु भयो ।
२०६३ वैशाख ११ गते मुलुकमा लोकतन्त्रको स्थापना भयो । २०६३ मङ्सिर ५ गते बृहत् शान्ति सम्झौतासँगै १० वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्य भयो । २०६४ चैतमा संविधानसभाको निर्वाचन सम्पन्न भयो । २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकसँगै औपचारिक रूपमा राजतन्त्रको अन्त्य भई मुलुक गणतन्त्रको नयाँ युगमा प्रवेश गरेको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट एमबिए तहको अध्ययन पूरा गरेका पोखरेल भू–राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेतामध्ये एक हुनु हुन्छ । लामो समय पार्टी स्कुल विभागको जिम्मेवारीमा रहेर काम गर्नु भयो । पोखरेलका राजनीतिक, वैचारिक र समाजका विविध क्षेत्रका विषय समेटिएका थुप्रै पुस्तक र लेख रचनाहरू प्रकाशित छन् ।
नेकपा (एमाले) को लोकप्रिय नेता शङ्कर पोखरेल २०७८ मङ्सिरमा चितवनमा सम्पन्न पार्टीको दशौँ महाधिवेशनबाट सर्वसम्मतिले महासचिवमा चुनिनु भएको थियो । देशको सबैभन्दा ठुलो राजनीतिक पार्टीको महासचिवको हैसियतमा उहाँले पार्टीको आन्तरिक सङ्गठन सञ्चालन मात्र नभई राष्ट्रिय राजनीतिमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्नु भयो । लोकप्रिय नेता शङ्कर पोखरेल एमालेको एघारौँ महाधिवेशनमा सुरेन्द्र पाण्डेलाई २ सय ३० मतले पराजित गर्दै दोस्रो पटक महासचिवमा निर्वाचित हुनु भयो ।