प्रतीक इच्छुक शर्मा
सल्यान, पुस ३ गते । सल्यान प्रहरीले ३३ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ । विशेष सूचनाका आधारमा जिल्लाका विभिन्न स्थानबाट ठुलो परिमाणमा अवैध भरुवा बन्दुक बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बरामद गरिएका भरुवा बन्दुकहरू बनगाड कुपिण्डे नगरपालिका र त्रिवेणी गाउँपालिकाका विभिन्न स्थानबाट बढी मात्रामा फेला परेका छन् । लामो समयदेखि अवैध रूपमा लुकाइ–छिपाइ राखिएका अवस्थामा ती बन्दुकहरू भेटिएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार एक जना व्यक्ति भरुवा बन्दुकसहित पक्राउ परेका छन् र उनीविरुद्ध मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको छ । अवैध रूपमा बन्दुक लुकाइएको भन्ने सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा व्यक्तिका घर, बारी तथा जंगलमा लुकाइराखिएका अवस्थामा भरुवा बन्दुकहरू फेला परेको हो ।
अवैध रूपमा हतियार राख्नु कानुनी अपराध भएकाले बन्दुक कसले, कुन उद्देश्यले र कहिलेदेखि राखेको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद भएका बन्दुकबारे आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।
प्रहरीका अनुसार स्थानीय केही व्यक्तिले अवैध रूपमा लुकाइ–छिपाइ हतियार राखेको र ती हतियार वन्यजन्तुको चोरी सिकारमा प्रयोग भएको हुन सक्ने आशंका गरिएको छ ।
आगामी निर्वाचनलाई लक्षित गर्दै यस्ता अवैध रूपमा राखिएका बन्दुक तथा हातहतियारको खोजी अभियानलाई अझ तीव्र पारिएको सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो । निर्वाचनलाई शान्तिपूर्ण, भयमुक्त र निष्पक्ष बनाउन प्रहरीले यो अभियानलाई व्यापक बनाउने जनाएको छ ।