• ३१ वैशाख २०८१, सोमबार

क्यान्सर रोगीका सहारा

blog

राजीव गान्धी क्यान्सर अस्पतालमा उपचारका लागि नेपालबाट गएका बिरामी र बिरामीका आफन्त ।

दैलेखका विष्णु शाही ठकुरी भारतमा बस्दै आउनुभएको २० वर्ष भयो । हाल भारतको नयाँदिल्लीमै काम गरेर उहाँ बस्नुभएको छ । उहाँ बस्ने ठाउँमा बिहानदेखि बेलुकीसम्मै ३०/४० जना नेपाली एकआपसमा भलाकुसारी गरेर बसिरहेका हुन्छन् । त्यहाँ भलाकुसारी गरेर बस्ने सबै नेपाली क्यान्सर रोगी र क्यान्सर रोगीका आफन्त मात्र हुन् । क्यान्सरको उपचारमा जाने र उपचारपछि नियमित फलोअपमा जाने धेरै नेपालीको बस्ती नै छ यहाँ । वास्तवमा विदेशमा गएर उपचार गर्नु भनेको धेरै कठिन काम हो । त्यो पनि एक/दुई दिन होइन, दुई/तीन महिनादेखि एक वर्षसम्म नै निरन्तर बस्नुपर्ने हुन्छ ।

विष्णु भाइलाई नेपालबाट आएका बिरामीले भगवान्सरह मान्छन् । बिरामीलाई रगत चाहियो विष्णु भाइ, बस्ने व्यवस्था मिलाइदिनुप-यो विष्णु भाइ, डाक्टरसँग समय लिनुपर्दा समेत विष्णु भाइ ।  

यादवराज त्रिपाठीले भारतको राजीव गान्धी अस्पतालमा उपचार गराएर फलोअप थाल्नुभएको पाँच वर्ष भइसक्यो । उहाँले ४५ महिनामा ५९ वटा किमो लिइसक्नुभयो । उहाँलाई नेपालमा सबैभन्दा बढी किमो लिने व्यक्ति आफैँ हो भन्ने लाग्छ । यति धेरै समयसम्म किमो लिँदा पनि अझै ठीक भएको छैन । किमोमा पनि नयाँ प्रविधि भित्रिएको छ । ओरलबाट किमो दिन सकिन्छ तर ओरलबाट दिइने किमो नेपालीको पहुँचमा छैन । एक पटकको ८० लाख रुपियाँ पर्दछ । अहिले उहाँलाई राजीव गान्धी क्यान्सर अस्पतालमा त्यही औषधि चलाइएको छ । भारतमा पनि सहज ढङ्गले उक्त औषधि पाइँदैन । धेरै प्रक्रिया गरेर तीन/तीन महिनाका लागि उक्त औषधि बेल्जियमबाट झिकाएर उपचार भइरहेको छ । त्रिपाठीलाई फोक्सोको क्यान्सर भएको थियो । नेपालको प्रयोगशालामा परीक्षण गर्दा उहाँको फोक्सोबाट सबैतिर क्यान्सर फैलिसकेको भनिएको थियो । स्थिति जटिल छ पनि भनियो । त्यसपछि उहाँ भारतमा जानुभयो । भारतमा पुनः पेटस्क्यान गर्दा नेपालको ल्याबले दिएजस्तो होइन रहेछ । 

धेरै नेपालीले नेपालमा जचाउँदा क्यान्सर भएको रिपोर्ट पाउँछन् तर भारतमा जचाउँदा क्यान्सर नभएको पुष्टि हुन्छ । कतिपय नेपाली नेपालको स्वास्थ्य प्रणालीलाई विश्वास नगरेर भारत जान्छन् । साहित्यकार तथा प्राध्यापक गीता त्रिपाठी नेपालमा क्यान्सरको राम्रो अस्पताल नहुँदा नेपाली क्यान्सर उपचारका लागि भारत जानुपरेको बताउनुहुन्छ । उहाँ पनि श्रीमान् यादव त्रिपाठीको क्यान्सर उपचारका लागि फलोअपमा भारत बेलाबेला गइरहनुहुन्छ । नेपालमा क्यान्सरको चौथो चरण भनेर देखाइदिन्छ । यही रोग भारतमा गएर जचाउँदा पहिलो चरण हुन्छ । त्यसैले भारतमा क्यान्सर उपचार गराउन जानुपरेको साहित्यकार त्रिपाठीको भनाइ छ । 

न पेसा बच्यो न घरघडेरी

बुटवलका मेखबहादुर रोका काठमाडौँमा ट्याक्सी चलाएर जीविकोपार्जन गर्नुहुन्थ्यो । ट्याक्सी चलाउँदा चलाउँदै उहाँलाई रक्तक्यान्सर भएको पुष्टि भयो । तेस्रो चरणमा पुगिसकेको रहेछ । नेपालमा उपचार गर्न कठिन हुने भएपछि परिवारले उहाँलाई भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा लगे । मेखबहादुरकी श्रीमती अम्बिका रोका क्षेत्रीले केही पैसा जम्मा गरेर उहाँ पनि श्रीमान्सँगै भारत जानुभयो । त्यहीबेला कोरोना पैmलियो । उहाँहरू भारतमा उपचारका लागि जाँदा बन्दाबन्दी भयो । खाँदाबस्दा नै उपचार गर्ने पैसा सकियो । देशविदेश सबैतिर बन्दाबन्दी छ । आपत् परेपछि भारतमै बस्नु हुने विष्णु शाही ठकुरीले केही आफैँले र १६ लाख रुपियाँ दाताहरूबाट उठाएर दिनुभयो । श्रीमान्को उपचारका लागि अम्बिकाले बुटवलको घडेरी बेच्नुभयो । गरिखाने ट्याक्सी पनि बेच्नु भयो । यतिले नपुगेर ऋण पनि लिनुभयो । एक वर्षसम्म भारतमा बसेर श्रीमान्को उपचार गर्दा रोका परिवारको ८० लाख रुपियाँभन्दा बढी सकियो । 

प्रधानसेनापति प्रभुराम शर्मा विष्णु शाही ठकुरीलाई सम्मान गर्नुहुँदै । 

अहिले पनि तीन/तीन महिनामा फलोअपमा उहाँहरूलाई भारत जानुपर्छ । यस्तै १४ दिनको फरकमा इन्जेक्सन लगाउनुपर्छ । महिनामा ८० हजार रुपियाँको औषधि चाहिन्छ । डाक्टरले पुनः दोहोरियो भने ट्रान्सप्लान्ट नै गर्नुपर्छ, नत्र औषधिले काम गर्छ भनेका छन् । श्रीमान्लाई क्यान्सर नदोहोरियोस् भन्ने कामना गरेर अम्बिका बसिरहनुभएको छ । नेपाल आएपछि श्रीमान्ले ट्याक्सी चलाउन सक्नुहुन्न । अम्बिकाको केही पनि काम छैन । बाँच्नु त प¥यो भनेर ऋण खोजेरै भए पनि श्रीमान्–श्रीमती मिलेर सानो होटल खोल्नुभएकोे छ । 

उपचारमा गएका नेपालीको बस्ती

भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचारमा जानेमध्ये ३० देखि ३५ प्रतिशतसम्म नेपाली हुन्छन् । यस अस्पताल वरिपरिको बस्ती नेपालीको मात्रै छ । यहाँका सोमबजार, रोहिणी र सेक्टर पाँच भन्ने ठाउँ मिनी नेपालभन्दा फरक नहोला । कोही नेपालमा विश्वास नलागेर गएका हुन्छन् भने कोही पेटस्क्यान गर्नका लागि जान्छन् । फलोअपका लागि भारत जाने नेपाली पनि धेरै छन् । त्यहाँ थोरै खर्चमा गुजारा गर्छुभन्दा पनि एक हजार भारु लाग्छ । उपचारका लागि त्यहाँ जाने नेपालीहरूका कारण भारतीयहरूले कमाइरहेका छन् भने नेपालीको जायजेथा सकिइरहेको छ । 

रोगीका सहारा विष्णु 

क्यान्सर लागिसकेपछि धेरै नेपाली भारतमै उपचारका लागि जान्छन् । विदेशमा कहाँ बस्ने, कहाँ खाने, कुन डाक्टरसँग गएर उपचार गर्ने भन्ने समस्या पर्छ । कतिलाई त भाषाको पनि समस्या पर्दछ । जति पनि क्यान्सर रोगी यहाँ जान्छन्, तिनलाई आर्थिकदेखि खाने, बस्ने सहयोग जुटाइदिने काममा विष्णु शाही लागिरहनु भएको छ । अहिले विष्णुलाई नेपालीहरू भगवान्सरह मान्छन् । शाही २० वर्षदेखि नै नयाँदिल्लीमा बस्दै आउनुभएको छ । उहाँ बस्ने ठाउँमा बिहानैदेखि नेपाली क्यान्सर बिरामी र बिरामीका आफन्त लाइन लाग्छन् । त्रिपाठी भन्नुहुन्छ, “विष्णु भाइलाई नेपालबाट आएका बिरामीले भगवान्सरह मान्छन् । बिरामीलाई रगत चाहियो विष्णु भाइ, बस्ने व्यवस्था मिलाइदिनुप-यो विष्णु भाइ, डाक्टरसँग समय लिनुपर्दा समेत विष्णु भाइ । यस्तै लामो समय भारतमा बसेर उपचार गराउनेहरूलाई पनि विष्णुले आधारकार्ड बनाउन पनि मद्दत गर्नुहुन्छ ।”

भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचारमा जानेमध्ये ३० देखि ३५ प्रतिशतसम्म नेपाली हुन्छन् । यस अस्पताल वरिपरिको बस्ती नेपालीको मात्रै छ । यहाँका सोमबजार, रोहिणी र सेक्टर पाँच भन्ने ठाउँ मिनी नेपालभन्दा फरक नहोला । 

साहित्यकार त्रिपाठीका अनुसार त्यही भएर विष्णु शाहीलाई नेपाली सेनाले समेत सम्मान गरिसकेको छ । आधारकार्ड भएको अवस्थामा उपचारका लागि धेरै सहयोग पुग्छ । त्यसैले विष्णु नेपाली बिरामीका लागि भगवान् बन्नुभएको छ । नेपालीले एक दिनमा ६० लाखदेखि एक करोड रुपियाँसम्म राजीव गान्धी क्यान्सर अस्पताललाई बुझाउने गरेका छन् । 

नेपालमा पेटस्क्यानसमेत छैन

नेपालमा हालसम्म पेटस्क्यानको सुविधा छैन । पूर्वराष्ट्रपति डा.रामवरण यादव जापान उपचारका लागि जानुभएपछि पेटस्क्यान मेसिन आवश्यकताको महसुस गरी सरकारले बजेट पनि छुट्याएको थियो तर हालसम्म सरकारीस्तरमा पेटस्क्यान मेसिन खरिद गर्न सकिएको छैन । निजी क्षेत्रको झापास्थित पूर्वाञ्चल अस्पतालले पेटस्क्यान मेसिन खरिद गरेर ल्याएको तीन वर्ष भइसक्यो । अहिलेसम्म उक्त अस्पताललाई पेटस्क्यान गर्न सरकारले स्वीकृति दिएको छैन । पेटस्क्यान मेसिन मात्र नेपालमा सहज उपलब्ध भइदिने र भारतको भन्दा सस्तो मूल्यमा यो सेवा पाउने हो भने क्यान्सरका ५० प्रतिशत बिरामीले नेपालमै उपचार गराउँथे । 

रोग पत्ता नलाग्दा कलेजो ड्यामेज

बानेश्वरकी संज्ञा श्रेष्ठले पनि तीन वर्षअघि ससुरालाई प्रोष्टेट क्यान्सर भएर भारत लैजानुपरेको थियो । त्यहाँ उपचारको सबै व्यवस्था मिलाउने काम पनि विष्णुले गर्नुभएको थियो । लामो समयसम्म भारतमा बसेर उपचार गरी फर्किएपछि संज्ञाका श्रीमान् प्रवीणलाल श्रेष्ठलाई खुट्टा अत्यधिक दुख्ने, केही गर्नै नसक्ने, लुगा पनि अरूले लगाइदिनुपर्ने र दिसा पनि अरूले गराइदिनुपर्ने अवस्था आयो । त्यसपछि काठमाडौँको अस्पतालमा उपचारका लागि लैजाँदा नसासम्बन्धी समस्या भनेर तीन महिनासम्म औषधि खुवाइयो । एकैदिनमा २५ चक्कीसम्म औषधि खान दिए । तीन महिनासम्म समस्याजस्ताको तस्तै रह्यो । तीन महिनासम्म औषधिले काम नगरेपछि डाक्टरले अब औषधि खानुहुँदैन भने । 

नेपालमा नभएपछि भारतको मेदान्तमा लगियो । त्यहाँ लैजाँदा थाहा भयो हड्डीको बाथ भएको रहेछ । नेपालमा डाक्टरले नसाको औषधि खुवाए । परीक्षण गराउँदा कलेजोसमेत ड्यामेज भइसकेको रहेछ । नेपालमा त अस्पतालहरूलाई विश्वास गर्नै नसकिने रहेछ । तीन महिनासम्म औषधि खाएपछि श्रीमान्को नसाको बाथ भएको पुष्टि भयो । त्यो बेलासम्म कलेजोमा धेरै खराबी आइसकेको थियो । त्यो पनि भारतमा लगेपछि मात्र पुष्टि भयो । अहिले बाथको दुईथरी औषधि खुवाउने गरिएको छ । काठमाडौँको ठाउँमा बसेर राम्रो उपचार नभएपछि कहाँ जाने ? 

  

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।