• ८ साउन २०८२, बिहिबार

हिरासतमा लिइएका बेलायती दम्पतीको उपचार भइरहेको तालिबानको दाबी

blog

काबुल, साउन ७ गते । अफगानिस्तानमा महिनौंदेखि हिरासतमा रहेका एक वृद्ध बेलायती दम्पतीको उपचार भइरहेको तालिबान सरकारका उच्च कूटनीतिज्ञले बुधबार बताएका छन् । करिब १८ वर्षदेखि अफगानिस्तानमा बस्दै आएका ८० वर्षीय पिटर र बार्बी रेनोल्ड्सलाई फेब्रुअरीमा चिनियाँ-अमेरिकी साथी फेय हल र एक अफगान अनुवादकसहित गिरफ्तार गरिएको थियो ।

अफगानिस्तानका विदेशमन्त्री अमिर खान मुत्ताकीले राजधानी काबुलमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “उनीहरूका सबै मानव अधिकारको सम्मान गरिएको छ ।” उहाँले भन्नुभयो, “उनीहरुलाई उपचारको व्यवस्था मिलाइएको छ र  उनीहरूलाई बेलाबेलामा आफ्ना परिवारसँग सम्पर्कको व्यवस्था गरिएको छ ।” मुत्ताकीले भन्नुभयो, “उनीहरूको रिहाइका लागि प्रयास भइरहेको छ, तर प्रक्रिया पूरा भएको छैन ।”

संयुक्त राष्ट्रसङ्घका स्वतन्त्र विज्ञहरूले सोमबार उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा ‘तीव्र गिरावट’ आएको चेतावनी दिँदै यसले ‘अपूरणीय क्षति वा मृत्युको समेत जोखिम’ रहेको बताएका थिए । संयुक्त राष्ट्रसङ्घका अनुसार ती दम्पतीलाई केही महिनासम्म उच्च सुरक्षा युक्त स्थानमा राखिएको थियो, त्यसपछि अँध्यारो जमिनमुनिका कोठाहरूमा राखिएको थियो भने गत हप्ता उहाँहरूलाई काबुलको गुप्तचर सेवा कार्यालयमा स्थानान्तरण गरिएको थियो ।

 सन् २०२३ मा मस्तिष्काघात भएपछि पिटर रेनोल्ड्सलाई मुटुको औषधि आवश्यक पर्ने विज्ञहरुले बताएका छन् । हिरासतमा लिएपछि उनको आँखामा दुई पटक संक्रमण भएको छ भने टाउको र बायाँ पाखुरामा कम्पन आउने समस्या देखिएको छ । रक्तअल्पताबाट पीडित उहाँकी पत्नी ‘अस्वस्थ र कमजोर’ हुनुहुन्छ भने उहाँको खुट्टा सुन्निएको विज्ञहरूले बताएका छन् ।

सन् १९७० मा काबुलमा विवाह गरेका यी दम्पतीले अफगानिस्तानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका थिए । तालिवान अधिकारीहरूले उनीहरूलाई पक्राउ गर्नुको कारण बताउन अस्वीकार गरेका छन् तर यस मामिलासँग परिचित एक स्रोतले अप्रिलमा एएफपीलाई बताएअनुसार दम्पतीसँग धेरै गैर–इस्लामिक पुस्तकहरू थिए । रासस/एएफपी