जनार्जन खत्री
सर्लाही, साउन ७ गते । सर्लाही सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालका चिकित्सकमाथि हातपात भएको छ । चिकित्सकमाथि हातपात भएको विषयलाई लिएर मङ्गलबारदेखि नै अस्पतालमा ओपिडी सेवा बन्द गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जीव सिंहले दोषीमाथि कानुनी कारवाहीको माग गर्दै अस्पतालको आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको जानकारी दिनुभयो ।
अस्पतालमा हड्डी भाँचिएर उपचारमा लागि आएका मलङ्गवाकै एक जना बिरामीलाई अन्यत्र रेफर गर्ने विषयलाई लिएर सोमबार राति बिरामीका आफन्तले अस्पतालमा कार्यरत अर्थोपेडिक डा. कृष्णजङ्ग साहमाथि हातपात गरेका थिए । डा. साहमाथि हातपात गर्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्दै अस्पतालमा कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीले दुई दिनदेखि आकस्मिकबाहेकका सेवा ठप्प पारेका हुन् ।
नेपाल चिकित्सक सङ्घले प्रेस विज्ञप्ति जारी गरी चिकित्सकमाथि हातपात गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेको छ । मलङ्गवा अस्पतालको ओपिडी सेवा ठप्प हुँदा अस्पतालमा उपचारका लागि आएका बिरामी मारमा परेका छन् ।