• ८ साउन २०८२, बिहिबार

नरैनापुरमा सामुदायिक स्वास्थ्य घरदैलो कार्यक्रम सुरु

blog

अभियान अन्तर्गत घरघरमा पुगेर स्वास्थ्य अवस्था बुझ्दै स्वास्थ्यकर्मी ।

सिराज खान 

नेपालगन्ज, साउन ७ गते । बाँकेका अन्य पालिकाहरूको तुलनामा सबैभन्दा कम स्वास्थ्य सेवाको पहुँच भएको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा नागरिकको स्वास्थ्य सबल बनाउन र नसर्ने रोगको जोखिम न्यूनीकरण गर्न सामुदायिक स्वास्थ्य घरदैलो कार्यक्रम सुरु गरिएको छ । 

नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहका अनुसार समयमा जानकारी नपाउँदा नागरिकले अकालमा ज्यान गुमाउनुपरेको अवस्थालाई ध्यानमा राख्दै सामुदायिक स्वास्थ्य घरदैलो कार्यक्रम सुरु गरिएको हो । 

कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीहरूले जनताको घरघरमा पुगेर उनीहरूको स्वास्थ्य अवस्था बुझ्दै स्वास्थ्य प्रोफाइल तयार गर्ने र सोही आधारमा उनीहरूलाई आवश्यकता अनुसार उपचार सेवा दिने अध्यक्ष शाहले बताउनुभयो । 

गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक नगेन्द्रकुमार शाहका अनुसार यस अभियानमार्फत नागरिकको स्वास्थ्य प्रोफाइल तयार गरिने छ र सोही आधारमा सेवा प्रवाह गरिने छ।

जनस्वास्थ्य अधिकृत करम चौधरीले सामुदायिक स्वास्थ्य घरदैलो अभियान अर्थपूर्ण रहेको जनाउँदै सम्पूर्ण वडामा स्वास्थ्यकर्मी परिचालन गरेर तथ्याङ्क सङ्कलन र सचेतना फैलाउने कार्य गरिने जानकारी दिनुभयो ।

गाउँपालिकाका सबै ६ वटै वडामा सञ्चालन हुने सो कार्यक्रममा अनमी, स्टाफ नर्स र अहेव गरी १२ जना स्वास्थ्यकर्मी खटिने छन् । उनीहरूले मुटु रोग, मानसिक समस्या, पाठेघर र स्तन क्यान्सर, गर्भवती महिला, ज्येष्ठ नागरिक, बालबालिका र किशोर–किशोरीहरूलाई लक्षित गरेर स्वास्थ्य सेवा र सचेतना दिनुका साथै उनीहरूको स्वास्थ्य प्रोफाइल समेत तयार पार्ने छन् । 

स्वास्थ्य चौकी कटकुइयाका इन्चार्ज दिनेश मौर्यले नरैनापुर मधेशी र मुस्लिम बाहुल्य क्षेत्र भएकाले सो अभियानमा केही चुनौती भए पनि निरन्तरता दिन सके स्वास्थ्य सेवामा ठुलो सफलता मिल्ने बताउनुभयो ।

नरैनापुर गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल सञ्चालनमा आउन लागेकोले यो अभियानले नागरिकलाई गुणस्तरीय सेवा लिन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।