गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १४ गते । चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको पाँचौँ हप्तामा प्रवेश गरेको छ । शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आएको चलचित्र हलहरूमा निरन्तर चलिरहेको छ । उच्च सोसहित प्रदर्शन सुरु गरेको चलचित्र हेर्न अहिले पनि दर्शक हलमा पुगेको निर्माण पक्षले जनाएको छ ।
निर्माता नवीन श्रेष्ठले दर्शकको राम्रो प्रतिक्रिया पाएर चलचित्रले राम्रो व्यापार गरेको बताउनुभयो । ‘लाज शरणम्’ ले पहिलो दिन एक करोड १० लाख रुपियाँ ग्रस कलेक्सन गरेको पनि उहाँले बताउनुभयो । चलचित्रमा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साललगायतको अभिनय छ । जेपिटी क्रियसनको ब्यानरमा बनेको चलचित्रको निर्देशन कुमार कट्टेलले गर्नुभएको हो ।