• १६ चैत २०८१, शनिबार

सिमेन्ट उद्योगले ढुङ्गा ओसार्दा स्थानीयलाई समस्या

blog

जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेललाई ध्यानाकर्षण पत्र बुझाउँदै स्थानीय । तस्बिर : कोकिला भण्डारी

कोकिला भण्डारी
धनकुटा, चैत १३ गते ।
दन्तकाली क्वेरिजले धनकुटाको सहिदभूमि गाउँपालिका ७ साल्बोटे र पाखाटोलमा २५ हेक्टर क्षेत्रफलमा सिमेन्ट बनाउने ढुङ्गा निकाल्छ । क्वेरिजको मुख्य कार्यालयमार्फत शिवम्, सौर्य र रिद्धि सिमेन्ट उद्योगले यतिबेला दैनिक ४० वटासम्म टिप्परले उक्त क्षेत्रबाट ढुङ्गा लैजाने गरेको छ । उक्त ढुङ्गा ओसार्दा स्थानीयले धुलोको समस्या खेप्नुपरेकाे छ ।

सिमेन्ट उद्योगले सहिदभूमि ७ र धनकुटा नगरपालिका ९ को तमोर किनारै किनारको सडकबाट ढुङ्गा लैजाँदा बाटो बिग्रिएकाले स्थानीयले धुलोधुवाको सामना गर्नुपरेको हो ।

ढुङ्गा लैजाँदा टिप्परले बाटो बिगार्ने र धुलैधुलो बनाउने गरेको भन्दै आक्रोशित बनेका स्थानीयले सिमेन्ट उद्योगका कारण तमोर किनार आसपास बस्ने मानिसहरु विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलको ध्यानाकर्षण गराउँदै विभिन्न मागसहित पत्र बुझाएका छन् ।

उक्त पत्रमा स्थानीयले सम्बन्धित क्षेत्रको बाटोमा पैदल यात्रीलाई समस्या भएकाले यसतर्फ ध्यान दिनुपर्ने, बाटोको दीर्घकालीन समस्या समाधानका लागि बाटो कालोपत्रे गर्नुपर्ने, खानी सञ्चालन तथा टिप्पर आवातजावत गर्दा धुलो नउड्ने वातावरण बनाउनुपर्ने उल्लेख छ ।

यसका साथै बर्खाको समयमा बाटो बिग्रिदा यस क्षेत्रको कृषि उत्पादन ढुवानीमा समस्या पर्ने भएकाले १२ महिनै बाटोको मर्मतसम्भार हुनुपर्ने, धुलोधुवाँका कारण सो क्षेत्रका विद्यालय तथा विद्यार्थीहरुमा पठनपाठनमा समस्या भएका कारण विद्यालय समयमा टिप्पर सञ्चालन गर्न नहुने, सम्भावित दुर्घटना न्यूनीकरणका लागि ढुवानी साधनको गति सिमितता हुनुपर्ने र सिमेन्ट खानीले वैकल्पिक मार्गको विकल्प खोज्नुपर्ने, स्थानीयवासीहरुले टिप्पर आवातजावतमा अवरोध गर्ने चेतावनी दिँदै तीन दिन भित्रमा सरोकारवाला निकायले धुलोधुवाँ न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्ने माग राखेका छन् ।

स्थानीय सरोकार समिति तथा स्थानीयवासीहरुका तर्फबाट बुझाएइको उक्त पत्र दन्तकाली क्वेरिज मुख्य कार्यालय, प्रतिनिधिसभा सदस्य राजेन्द्र राई, प्रदेशसभा सदस्य निरन राई, जिल्ला समन्वय समिति, धनकुटा नगरपालिका, सहिदभूमि गाउँपालिका, जिल्ला प्रहरी कार्यालय धनकुटालाई समेत बोधार्थ दिइएको पत्रमा उल्लेख छ ।