• २० असार २०८१, बिहिबार

शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायन रोक्नुपर्छ : प्रधानमन्त्री देउवा

blog

केदार तिमल्सिना 

बनेपा, जेठ २० गते । प्रधानमन्त्री शेरबहादुर देउवाले देशभित्र रहेको बढ्दो शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई न्यूनीकरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालय (केयू) को २७ औँ दीक्षान्त समारोहको (दोस्रो चरण) लाई शुक्रबार सम्बोधन गर्नुहुँदै विश्वविद्यालयका कुलपति समेत रहुनभएका प्रधानमन्त्री देउवाले देशभभित्र नै सीपमूलक शिक्षा विकास गरी विकास निर्माणका कार्यहरूमा स्वदेशी दक्ष जनशक्तिको उपयोग गर्नुपर्ने बताउनुभएको हो ।

युवा जनशक्तिलाई उनीहरूको रुचि र विश्व बजारको मागअनुरूपको गुणस्तरीय उच्च शिक्षा देशभित्रै प्राप्त गर्नसक्ने वातावरण निर्माण गर्नेतर्फ जोड दिनुपर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवाले काठमाडौं विश्वविद्यालयले स्थापनाकालदेखि नै गुणस्तरीय उच्च शिक्षाको प्रवद्र्धन गर्न अग्रणी भूमिका निर्वाह गर्दैआएको बताउँदै विश्वविद्यालयबाट उत्पादित गुणस्तरीय जनशक्ति उत्पादन गरी विभिन्न क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति पूरा गर्दैआएको चर्चा गर्नुभयो । 

विश्वविद्यालयको पाँचखालमा मुलुकको आवश्कताअनुरुपको कृषि शिक्षा र समयको मागअनुसार आर्टीफिसियल ईन्जिनियरिङ कार्यक्रम शुरु भएकोमा खुसी भएको बताउँदै त्यसको महत्वलाई आत्मसात् गर्दै विश्वविद्यालयलाई आवश्यक सहयोग गर्न नेपाल सरकार तयार रहेको बताउनुभयो । 

प्रधानमन्त्री देउवाले स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गरेर केयूले उच्च शिक्षाका लागि वर्षेनी विदेशिने गरेको विदेशी मुद्रालाई मुलुकभित्रै सञ्चित राख्न सहयोग पु¥याएइको बताउनुभयो । 

विश्वविद्यालयले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड– १९ को सन्त्रासबीच पनि आफ्नो शैक्षिक क्यालेण्डर यथावस्थामा राखी कार्यक्रमलाई निरन्तरता दिई आएको बताउँदै विश्वविद्यालयले बौद्धिक जनशक्तिको पलायन रोक्न, सीपयुक्त जनशक्ति विकासमा ह्रास आउन नदिन तथा परिवर्तित युगसुहाउँदो शैक्षिक, वैज्ञानिक चेतनाको विकास कार्यमा खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । 

प्रधानमन्त्री तथा केयूका कुलपति देउवाले विश्वविद्यालयका शैक्षिक कार्यक्रमका गतिविधिहरू क्रमशः बढ्दै गइरहेको परिप्रेक्ष्यमा यसको भौतिक पूर्वाधार निर्माणका लागि सरकारबाट आवश्यक सहयोग हुने बताउनुभयो । 

विश्वविद्यालयले इन्जिनियरिङ्ग, चिकित्सालगायतका प्राविधिक उच्चशिक्षा क्षेत्रमा अग्रणी भूमिका खेलेको बताउनुभयो । उहाँले केयूले आगामी दिनमा मुलुकभित्र छरिएर रहेका खनिज पदार्थको पहिचान र प्रशोधन, ग्रीन हाइड्रोजन र जलविद्युत उत्पादन, शहरी व्यवस्थापन, जलवायु प्रकोप न्यूनीकरण र जैविक औषधीय जडीबुटीहरूको खोज, अनुसन्धान तथा व्यावसायिक उपयोगका क्षेत्रमा गुणस्तरीय जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक–सामाजिक विकासमा थप टेवा पु¥याउने बताउनुभयो । 

कार्यक्रममा भारतको आईआईटि हैदराबादका निर्देशक बीएस मुर्तीले केयूसँग सहकार्य गरेर अघि बढ्न आईआईटी हैदरावाद तयार भएर केहीदिन अघि सम्झौत समेत भएको बताउनुभयो । उहँले दुई संस्थाबीच शैक्षिक गतिविधिमा सहकार्य हुने बताउँदै सो सम्बन्ध लामो समयसम्म जाने चर्चा गर्नुभयो । दीक्षित विद्यार्थीहरु सम्बन्धित क्षेत्रमा सफल हुन सबैभन्दा पहिलो आत्मविश्वास बलियो हुनुपर्ने तथा त्यस कामप्रतिको लगाव समेत आवश्यक हुने बताउनुभयो । 

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले केयूबाट उत्पादित दक्ष जनशक्ति स्वदेश तथा विदेशमा काम गर्दैआएको बताउनुभयो । उहाँले विश्वविद्यालयले विश्वका २२९ वटा उच्च शिक्षासँग सम्बन्धित प्राज्ञिक एवम् अनुसन्धानमूलक संस्थासँग सहयोग आदान प्रदानका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको बताउनुभयो । 

दीक्षान्त समारोहमा स्कूल अफ साइन्स इन्जिनियरिङ, एजुकेशन, म्यानेजमेन्ट, आर्टस र मेडिकल साइन्सका करिब एक हजार ७१५ जना विद्यार्थी दीक्षित हुनुभएको छ ।