अमरराज नहर्की
तनहुँ, चैत्र १२ गते । तनहुँका एक किसानले दुध बेचेर डेढ लाख पुरस्कार हात पार्नु भएको छ । पुरस्कार पाउनेमा व्यास नगरपालिका–१३ बेलबासका लेखनाथ बाँस्तोला हुनुहुन्छ । गण्डकी प्रदेशको उत्पादनको आधारित अनुदान कार्यक्रमअन्तर्गत किसान बाँस्तोलाले सो रकम पुरस्कार पाएपछि पेशाप्रति गौरवान्वित हुनुहुन्छ ।
पाँच वर्ष अघिदेखि कृषि पेशामा लाग्नु भएका किसान बाँस्तोलाले यातायात व्यवसाय छोडेर व्यावसायिक रुपमा गाईपालन तथा बाख्रा पालन गर्नु भएको छ । कोरोनाको समयमा लामो समयसम्म बन्दाबन्दी (लकडाउन) हुँदा आर्थिक अवस्था कमजोर भएपछि गाउँ फर्किएर उहाँले पशुपालन पेशा गर्नुभएको हो ।
यातायात व्यवसायबाट मनग्य आम्दानी हुने गरेपनि लकडाउनले धरासायी बनेपछि पेशा परिवर्तन गरेको बाँस्तोलाले बताउनुभयो । उहाँका फार्ममा हाल २२ वटा जर्सी तथा होलस्टेन जातका उन्नत गाई छन् । जसमध्ये १५ लैना गाईबाट दैनिक दुई सय लिटर दुध उत्पादन गरी मासिक चार लाखको बिक्री गर्ने गरेको बाँस्तोलाले बताउनुभयो । गाउँकै बेलबास दुग्ध उत्पादक सहकारीमा दुध बिक्री गरेर खर्च कटाएर मासिक दुई लाख बचत हुने गरेको बाँस्तोलले बताउनुभयो । बाँस्तोलाले भन्नुभयो, “उत्पादनमा आधारित प्रति लिटर दुई रुपियाँ अनुदानअन्तर्गत डेढ लाख पुरस्कार पाए पेशाप्रति गौरव महशुस भएको छ ।”
यातायात व्यवसायभन्दा गाई पालनबाट सन्तुष्टि मिलेको बाँस्तोलाको भनाइ छ । बेलबास दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष केशवबहादुर रानाले बाँस्तोला गाउँमा सबैभन्दा धेरै दुध बिक्री गर्ने किसान हुुनुहुन्छ । रानाले भन्नुभयो, ‘‘बाँस्तोलाले दैनिक दुई सय लिटरभन्दा धेरै दुध बिक्री गर्नु हुन्छ । गरे के हुँदैन भन्ने प्रेरणाको स्रोत बन्नु भएको छ ।”
गाईको साथै बाँस्तोलाले बाख्रा पालनबाट पनि मनग्य आम्दानी गर्नुभएको छ । उहाँले ५० वटा बोयर बाख्रा पाल्नुभएको छ । गाई र बाख्रा दुबै थप गरेर हालको आम्दानीलाई दोब्बर पार्ने सोच आएको बाँस्तोलाले बताउनुभयो । सरकारलाई अनुदान दिने प्रक्रिया बदल्नु जरुरी रहेको किसान बाँस्तोलाको सुझाव छ । व्यवसाय गरेको कागज बनाउने, अनुदान लिने र अनुदान पाएपछि पेशा छाड्ने गरेकाले अनुदानको दुरुपयोग भएको बाँस्तोला बताउनुहुन्छ । युवाहरुलाई कृषिमा भुलाउन दाना तथा चोकरमा अनुदानको व्यवस्था गर्ने, उत्पादनको आधारमा प्रोत्साहन रकम दिनुपर्ने बताउनुभयो ।