लीलाधर वली
घोराही, चैत ११ गते । दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको सांग्रीला प्लाई तथा भेनियर उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आइतबार राति करिब २ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।
आगलागीका कारण उद्योग पूर्णरुपमा जलेर नष्ट भएको छ । उद्योगमा राति विद्युत सट भएर आगलागी भएको प्रारम्भिक अनुन्धानका क्रममा देखिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभएको छ ।
प्रहरी नायब उपरीक्षक शाहका अनुसार आगलागीका कारण प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने मेसिनलगायतका सामग्री जलेर नष्ट भएको छ । उद्योगमा आगलागी भएको थाहा पाएपछि नेपाल प्रहरीसहित नेपाली सेना र सशस्त्र प्रहरीको टोली आगो नियन्त्रणका लागि निरन्तर रुपमा लागे पनि उद्योगमा ठुलो आगो सल्किएका कारण नियन्त्रण गर्न समस्या भएको प्रहरी नायब उपरीक्षक शाहले बताउनुभयो ।
आगलागी नियन्त्रणमा खटिनुभएका प्रहरी नायब उपरीक्षक शाहले भन्नुभयो, ‘‘उद्योगको सबै भागमा आगोले भेटाइसकेको छ । करिव ५/६ वटा दमकल र टेक्याक्टरको सहायताले आगो निभाउने प्रयास गरिरहेका छौं, तर नियन्त्रण गर्न सकेका छैनौं ।’’ आइतबार उद्योगमा बिदा भएको र कामदार नभएका कारण मानवीय क्षति हुन नपाएको उहाँले बताउनुभयो । उद्योगमा लागेको आगो नियन्त्रणसँगै उद्योग नजिकै रहेको बस्तीलाई जोगाउने गरी लागेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिनुभएको छ ।
उद्योगमा निरन्तर आगो लागिरहेको र दिउँसोको समयमा हावाहुरी चल्दा बस्ती समेत जोखिममा रहने भएकाले बस्तीलाई जोगाउने गरी सुरक्षाकर्मीले आगो नियन्त्रणको काम गरिरहेको प्रमुख जिल्ला अधिकारी लम्सालले जानकारी दिनुभएको छ । उहाँले उद्योग वरपर भएका करिव २५ देखि ३० वटा घर जोखिममा रहेको र त्यहाँ क्षति हुन नदिनका लागि सुरक्षाकर्मी खटिएको बताउनुभयो । उद्योगमा लागेको आगो ठुलो भएको र चारैतिर फैलिएका कारण घोराही र तुलसीपुर उपमहानगरपालिकाबाट दमकल आए पनि नियन्त्रणमा ल्याउन नसकिएको प्रहरीले जानकारी दिएको छ ।
आगो नियन्त्रणका लागि दाङका घोराही र तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकाका तीन वटा दमकलसँगै कपिलवस्तुको शिवराज नगरपालिका र बाँकेको कोहलपुर नगरपालिकाबाट दमकल बोलाएर आगो नियन्त्रणका लागि प्रयास भइरहेको बताउनुभयो । त्यसैगरी, उहाँले कपिलवस्तु, रुपन्देही, बाँके र बर्दिया जिल्लामा भएका थप दमकललाई बोलाइएको आउँदै गरेको जानकारी दिनुभएको छ । उद्योगमा लागेको आगलागीकाबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ । उद्योगले प्लाई उत्पादन गरेर देशका विभिन्न स्थानसँगै भारत समेत निर्यात गर्दै आएको थियो ।