अर्जुन कार्की
बागलुङ (काठेखोला), चैत १० गते । बागलुङमा परीक्षणको दायरा बढाउँदा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो देखिएको छ । स्वास्थ्य कार्यालय बागलुङले परीक्षणको दायरा बढाउँदा जिल्लामा क्षयरोगका बिरामीको सङ्ख्यामा वृद्धि हुँदै गएको बताइएको हो ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ रोग निरीक्षक देवप्रकाश घिमिरेले चालु वर्ष २०८१/०८२ को ८ महिनामा ६४ जना महिला र एक सय १४ जना पुरुष गरी एक सय ७९ जनालाई सङ्क्रमण पुष्टि भएको बताउनुभयो । यो क्रम असार मसान्तसम्म बढ्ने उहाँको भनाइ छ । घिमिरेले गत वर्ष तीन सय १० जनामा सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।
निरीक्षक घिमिरेका अनुसार बागलुङका १० पालिकामध्ये सबैभन्दा धेरै ढोरपाटन नगरपालिकामा क्षयरोगका बिरामी फेला परेको बताउनुभयो । उहाँले ढोरपाटन नगरपालिकामा ४३, बडिगाड गाउँपालिकामा ३८, गलकोट नगरपालिकामा २८, बागलुङ नगरपालिकामा २७, निसीखोला गाउँपालिकामा १४, जैमिनी नगरपालिकामा सात, ताराखोला गाउँपालिकामा चार, तमानखोला गाउँपालिकामा तीन, बरेङ गाउँपालिकामा चार र जैमिनी नगरपालिकामा सात जना क्षयरोगका बिरामी रहेको बताउनुभयो । बागलुङमा गत आर्थिक वर्षमा क्षयरोगका कारण १० जनाको मृत्यु भएको निरीक्षक घिमिरेले बताउनुभयो । यस वर्ष मृतकको सङ्ख्या आर्थिक वर्ष समाप्तिपछि मात्र थाहा हुने जानकारी उहाँले दिनुभयो ।
निरीक्षक घिमिरेले बागलुङमा परीक्षणको क्रम बढाएर सङ्क्रमितको सङ्ख्या पत्ता लगाउन सुरु गरिएको बताउनुभयो । उहाँले यस वर्ष गण्डकी प्रदेश सरकारले (आर्टिफिसियल इन्टिलिजेन्स) एआई एक्सरे मेसिनद्वारा क्षयरोग परीक्षण गर्दा सङ्क्रमणहरु पत्ता लाग्न सहयोग पुगेको बताउनुभयो । ‘‘प्रदेश सरकारले (आर्टिफिसियल इन्टिलिजेन्स) एआई एक्सरे मेसिनद्वारा बागलुङको ढोरपाटन नगरपालिका र गलकोट नगरपालिकामा क्षयरोग परीक्षण गरेको थियो,’’ उहाँले भन्नुभयो, ‘‘परीक्षणमा ढोरपाटनमा १९ जना र गकोटमा १० जना क्षयरोगका विरामीहरु पत्ता लागेको छ । परीक्षणले सङ्क्रमितको सङ्ख्या वृद्धि भएको छ ।’’
बागलुङमा निको हुने दर ९० दशमलव ४ प्रतिशत रहेको निरीक्षण घिमिरेले बताउनुभयो । ‘‘समयमै रोग पत्ता लागेर नियमित औषधी उपचार गरेमा क्षयरोग निको हुन्छ,’’ निरीक्षक घिमिरेले भन्नुभयो, ‘‘क्षयरोगको लक्षण देखा परेमा तुरुन्त परीक्षण गरी औषधी सुरुवात गर्नुपर्छ । बागलुङमा निको हुने दर ९० दशमलव ४ प्रतिशत रहेको छ ।’’
उहाँले बागलुङको चार पालिकालाई क्षयरोग मुक्त पालिका बनाउने लक्ष्यका साथ अभियान सुरु भएको बताउनुभयो । ‘गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकालाई क्षयरोग मुक्त पालिका बनाउने लक्ष राखिएको छ,’’ क्षयकुष्ठ निरीक्षक घिमिरेले भन्नुभयो, ‘‘त्यसका लागि ती क्षेत्रमा परीक्षणको दायरा पनि बढाइएको हो । परीक्षणको दायरा बढाउँदा सङ्क्रमितको सङ्ख्या पनि उल्लेख्य भेटिएको हो ।’’
घिमिरेले क्षयरोगको पछिल्लो अवस्था हेर्दा भयावहको अवस्था रहेको बताउनुभयो । उहाँले एक जना क्षयरोगीले २५ जनासम्मलाई श्वासप्रश्वासको माध्यमबाट रोग सार्ने भएकाले कोरोनाभन्दा पनि जोखिम भएको बताउनुभयो । ‘‘क्षयरोग जोखिमयुक्त देखिएको छ,’’ उहाँले भन्नुभयो, ‘‘सामान्य जस्तो लाग्नेले पनि क्षयरोगका व्याक्टेरिया बोकेर हिँडेका छौं । रोग प्रतिरोधी क्षमता कमजोर भएको समयमा ती व्यक्टेरिया सक्रिय बन्दा सङ्क्रमण देखापर्छ ।’’
धु्रमपान र मध्यपान गर्नेलाई सङ्क्रमण बढी हुने देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका निमित्त प्रमुख घनश्याम सापकोटाले बताउनुभयो । उहाँल कुपोषण भएका बालबालिका, ज्येष्ठ नागरिक, समूहमा बस्नेहरु समेतमा क्षयरोगको सङ्क्रमण बढी हुने बताउनुभयो । बागलुङमा पछिल्लो समय क्षयरोगको परीक्षणको दायरा बढेसँगै सङ्क्रमित पनि बढेको निमित्त प्रमुख सापकोटाले बताउनुभयो । बागलुङमा क्षयरोग परीक्षणका लागि माइक्रोस्कोपि सेन्टर १६ वटा रहेको निमित्त प्रमुख सापकोटाले बताउनुभयो ।
उहाँले जटिल प्रकारको अवस्थाबाहेक सबैलाई ती ल्याबबाट खकार परीक्षण गरेर क्षयरोगको सङ्क्रमणको परीक्षण गरिँदै आएको बताउनुभयो । जटिल प्रकारको भएमा धौलागिरि अस्पतालमा रहेको विशेष मेसिनबाट समेत परीक्षण हुने गरेको क्षयकुष्ठरोग निरीक्षक घिमिरेले बताउभयो । हरेक बर्ष मार्च २४ मा मनाइने विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय बागलुङले आइतबार पत्रकार अन्तरक्रिया गरेको छ ।