• २१ असार २०८१, शुक्रबार

घरबास सञ्चालन गर्न उत्साहित कठरिया

blog

चाँदनी आचार्य

घोडाघोडी, जेठ २० गते  । कैलालीका कठरिया समुदाय आफ्नो पहिचान झल्काउने होमस्टे (घरबास) सञ्चालनका लागि हौसिएका छन् । घोडाघोडी नगरपालिका–११, तप्पा गाउँका कठरिया समुदायका युवा होमस्टे सञ्चालनका लागि उत्साहित भएका हुन् । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, तारा गाउँ विकास समितिको आयोजनामा होमस्टेसम्बन्धी जनचेतनामूलक कार्यक्रममा उनीहरू सहभागी भएका हुन् । उनीहरूले होमस्टेको महत्त्व बुझेपछि आफ्नो ठाउँको विकास र कठरिया समुदायको सांस्कृतिक पहिचानका लागि सामुदायिक होमस्टे सञ्चालन गर्न एकजुट भएर लाग्ने बताएका छन् । 

सो गाउँका युवा शरद कठरियाले होमस्टेबारे सुनेको भए पनि त्यसको उद्देश्य थाहा नभएको बताउँदै जनचेतनामूलक कार्यक्रमबाट धेरै कुरा बुझ्न पाएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “तप्पा गाउँमा रहेको १४० घर सबै कठरिया समुदायको रहेको छ । हामीले आफ्नो कला संस्कृतिलाई चिनाउने अवसर होमस्टेबाट गर्न सक्ने रहेछौँ ।” शरद मात्र होइन सो गाउँका धेरै युवादेखि वयस्कसम्म होमस्टे सञ्चालनका लागि उत्साहित हुनुभएको छ । 

आफ्नो कला संस्कृति, रीतिरिवाजसहितको पहिचान खोजिरहेको अवस्थामा होमस्टे सञ्चालन कठरिया समुदायका लागि एउटा अवसर हुने स्थानीय युवा टीआर कठरियाले बताउनुभयो । उहाँले भन्नुभयो, “होमस्टे सञ्चालनबाट हामीले आफ्नो कला संस्कृति चिनाउन पाउनेछौँ । कठरिया समुदायको पहिचानको प्रचारप्रसार हुनेछ ।” भलभन्सा भोजप्रसाद कठरियाले बाहिरका मानिसलाई आफ्नो चालचलनअनुसार जेजे खानेकुरा छ, बनाएर खुवाउन र आफ्नो सांस्कृतिक पहिचान देखाउनका लागि होमस्टे राम्रो माध्यम बन्ने बताउनुभयो ।

ग्रामीण पर्यटन विकासका लागि होमस्टेको महत्त्व रहेको बताउँदै तारा गाउँ विकास समितिका सदस्यसचिव मदनगोपाल बानियाँले कठरिया समुदाय रहेको तप्पा गाउँमा होमस्टे सञ्चालनमा आएमा कठरिया समुदायको कला संस्कृति संरक्षण सँगसँगै उनीहरूको जनजीविकामा परिवर्तन आउने बताउनुभयो । पहलमानपुर बजारदेखि दक्षिण लालभोजी सडकखण्डमा पर्ने तप्पा गाउँमा होमस्टे सञ्चालन आएपछि त्यस क्षेत्रको ग्रामीण पर्यटन विकास हुनेसमेत अपेक्षा गरिएको छ । होमस्टे सञ्चालनका लागि तारा गाउँ विकास समितिले एक दशकदेखि सहयोग गर्दै आइरहेको छ ।

होमस्टे सञ्चालनका लागि समितिले सामुदायिक भवन निर्माण, सांस्कृतिक सङ्ग्रहालय, पाहुनाको स्वागत सत्कार र ग्रामीण पर्यटनको बजारीकरणमा सहयोग गर्दै आएको सदस्यसचिव बानियाँले बताउनुभयो ।

तप्पा गाउँमा होमस्टे सञ्चालनका लागि लामो समयदेखि पर्यटन व्यवसायी डबल शाहले पहल गर्नुभएको थियो । पर्यटन व्यवसायी शाहले कैलालीमा ६० गाउँ कठरिया समुदायको रहेको जनाउँदै तप्पा होमस्टेले पर्यटन विकासका लागि कनेक्टिभिटीको काम गर्ने बताउनुभयो । 

शाहले कठरिया समुदायलाई नजिकबाट बुझेको बताउँदै भन्नुभयो, “कठरिया समुदायको कला संस्कृति अत्यन्त राम्रो छ । पहिचान र संस्कृति जोगाउन होमस्टेले मद्दत गर्छ । गाउँको सरसफाइ, आर्थिक आयआर्जन, सामाजिक विकासमा पनि सहयोग पुग्छ । साथै पर्यटन विकासमा कनेक्टिभिटीको समेत काम गर्छ ।”

होमस्टे सञ्चालनका लागि तारा गाउँ विकास समितिका प्रशिक्षक घनश्याम ढकालले हाल नेपालमा पाँच हजार हाराहारीमा निजी तथा तीन हजार पाँच सय सामुदायिक होमस्टे (घरबास) सञ्चालनमा रहेको जानकारी दिनुभयो । होमस्टे सञ्चालनले ग्रामीण पर्यटनको विकास सँगसँगै समुदायको जनजीविकामा परिवर्तन आउने ढकालले बताउनुभयो । आफ्नो वडाको तप्पा गाउँमा होमस्टे सञ्चालनमा स्थानीय उत्साहित भएको देखेपछि नवनिर्वाचित वडाध्यक्ष दानसिंह जोगीले कठरिया होमस्टेका लागि वडाबाट हुने सहयोग गर्न आफू पनि तयार रहेको बताउनुभयो ।

Author

घोडाघोडी नगरपालिका–११, तप्पा गाउँमा होमस्टेसम्बन्धी जनचेतना कार्यक्रममा सहभागी स्थानीय बासिन्दा । तस्बिर : चाँदनी